धादिङ २८ पौष
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ ले पाँच सय वर्ष पुरानो ऐतिहासिक एवं पुरातात्त्विक महत्त्व बोकेको रामकोट गढीको जिर्णोद्धार सुरु गरेको छ ।
पुरातत्त्व विभागले गरेको खोज अनुसन्धानको आधारमा विक्रम सम्वत् १६६६ मा गोर्खाका तत्कालीन राजा राम शाहले राज्य गरेको धादिङको रामकोट पनि भएको पुष्टि गरेपछि रामकोटमा भएको गढी, किल्ला, राजा बसेको दरबारको भग्नावशेष खोजी गरी सोको संरक्षण र जिर्णोद्धार सुरु गरेको हो ।
पहिलो चरणमा गढीको संरक्षण राजा बसेको घर निर्माणका लागी स्थानीय वडाले नगरपालिकाको सहयोगमा सो स्थलमा भएका संरचनाको पुनः निर्माण सुरु गरेको वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठले बताउनुभएको छ ।
निर्माणका क्रममा पौराणिक महत्वका केही बस्तुहरू समेत फेला परेको छ । रामकोट गढीमा अहिले तत्कालीन सेनाले हातहतियार निर्माणका लागी प्रयोग गरेका औजार, मन्दिरमा पूजाआजका लागी राखिएका घण्टी, ओखल जस्ता वर्षौं पुराना बस्तुहरू समेत फेला परेको छ ।
यससँगै रामकोट गढीसम्म आवतजावतका लागी भीरको पहरा काटेर निर्माण गरेको गोरेटा बाटाहरू सेनाले प्रयोग गरेको बङ्कर र सुरुङ अहिले पनि रहेको छ । राजा सवार घोडा मरेपछि गाडेको सो स्थानमा अहिले पनि स्थानीयले पूजा गर्दै आएका छन् ।
हाल रामकोटको सो स्थानमा तत्कालीन दरबारको भग्नावशेषसँगै राजाले पूजा गर्ने मण्डलेश्वर महादेव र मण्डली देवीको मन्दिरमा भने पुर्खौँदेखि स्थानीयले संरक्षणसहित पूजा आज गर्दै आएको भनाइ छ ।
यस्ता स्थानहरूको संरक्षण र सम्वद्र्धनका साथै प्रचार प्रसार भएको खण्डमा इतिहास अध्ययनका लागी आउने शैक्षिक पर्यटकहरूका साथै अन्य पर्यटकहरूलाई आकर्षणको स्थल हुनसक्ने स्थानीयको विश्वास छ ।
प्रस्तावित रामकोट दरबार
यस स्थानबाट शक्तिशाली राज्यहरु नुवाकोट, काठमाण्डौं मकवानपुर आदिमा आक्रमण गर्ने र गोरखा राज्यको व्यापारलाई पश्चिम नेपाल हुँदै काठमाडौँ र तिब्बततर्फ व्यापार विस्तार गर्ने अभिप्रायले रामकोट दरबार क्षेत्रको प्रयोग भएको भन्ने पनि पुरातत्त्व विभागले गरेको खोज अनुसन्धानका क्रममा भेटिएको छ ।
यत्रतत्र छरिएका भग्नावशेष तथा ढुङ्गाहरु
प्रतिक्रिया दिनुहोस