धादिङ २६ पौष
आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला शाखा धादिङको पाँचौं अधिवेशन र “सामुदायिक सुरक्षामा पत्रकारको भुमिका” विषयक अन्तरक्रिया कार्यक्रमबाट सामुदायिक सुरक्षाका सम्वन्धमा पत्रकारिताको माध्यमबाट सत्य, निष्पक्ष, र जनचेतना अभिवृद्धि गर्दै समुदाय र सुरक्षा निकायबीच सेतुको रूपमा क्रियाशील हुने प्रतिबद्धता व्यक्त गरेको छ ।
विहिबार शान्ति सुरक्षा, सुव्यवस्था कायम गराउन सत्य र तथ्यमा आधारित सामुदायिक सुरक्षाका सवाल र मुद्दा उठान गर्ने, समुदायका सबै वर्ग र अल्पसंख्यक तथा सिमान्तकृत समुदायका सुरक्षा र अधिकारका मुद्दालाई विशेष प्राथमिकता दिएर उजागर गर्ने, सामुदायिक द्वन्द्व समाधानका लागि सकारात्मक सूचना, सन्देश दिने, हिंसात्मक गतिविधिहरूलाई रोक्न सुरक्षासँग सम्बन्धित सबै सूचनाको विश्वसनीयता कायम गर्ने, स्थानीय प्रशासन, सुरक्षा निकाय र नागरिक समाजसँग मिलेर सामुदायिक सुरक्षामा पैरवी गर्ने घोषणापत्रमा उल्लेख छ ।
यसैगरि आदिवासी जनजाति पत्रकारहरुसहित अन्य पत्रकारहरुका लागि क्षमता अभिवृद्दि गर्न सामुदायिक सुरक्षा लगायत विषयमा कार्यक्रम, तालिम र कार्यशालाहरू गर्ने, सामुदायिक सुरक्षा विषयमा अनुसन्धान रिपोर्ट, डकुमेन्ट्री, लेखहरू प्रकाशन गर्ने, सुरक्षा सम्बन्धी संकटका बेलामा सत्य, तथ्यपूर्ण र शीघ्र समाचार प्रवाहलाई सुनिश्चित गर्ने, सुरक्षासम्बन्धी समस्याहरूको दीर्घकालीन समाधान खोज्न सरोकारवालासँग निरन्तर संवाद गर्ने घोषणा गर्दै सञ्चार माध्यमहरू र सरोकारवालाहरूलाई सामुदायिक सुरक्षाका लागि एकताबद्ध भएर अघि बढ्न आव्हान समेत गरेको छ ।
नागरिक आवाजको सहयोगमा फोकस नेपाल र नेपाल आदीवासी जनजाती पत्रकार महासंघ (फोनिज) धादिङले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सहजीकरण गर्दै नेपाल पत्रकार महासंघ धादिङका निवर्तमान अध्यक्ष राजाराम शर्माले सामाजिक रुपान्तरणमा टेवा पुर्याउन मानसिक, सामाजिक, भौतिक, राजनीतिक आर्थिक विषय सामाजिक सुरक्षाका विषय भएकोले संचारकर्मीहरुले यस्ता सवाल उठाउनु पर्ने बताउनुभयो ।
फोनिज धादिङका अध्यक्ष अर्जुन श्रेष्ठले सामुदायिक सुरक्षाका सवालहरु सबै सञ्चार माध्यमले जोडदार रुपमा उठान गर्नु पर्ने बताउनुभयो । त्यस्तै, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारीले बञ्चेतिकरणमा परेका, सामाजिक र आर्थिक रुपमा पछाडी पारिएका दलित, जनजाती, अपांगता भएका, महिलाको सवाललाई अझै उजागर गर्नु पर्ने बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै फोकस नेपालका कार्यकारी निर्देशक एकराज छत्कुलीले नागरिक समाजको अगुवाको रुपमा बौद्धिकतापूर्ण समाचारको माध्यामबाट सामुदायिक सुरक्षामा पत्रकारले गहन भूमिका खेलेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस