धादिङ २५ पौष
नीलकण्ठ प्रज्ञा प्रतिष्ठान दोस्रो वर्ष पुरा भएर तेस्रो वर्षमा प्रवेश भएको उपलक्ष्यमा शुभकामना आदन प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।
प्रतिष्ठानको अध्यक्ष बद्री प्रसाद दाहालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जेष्ठ नागरिक जिल्ला संघ धादिङको अध्यक्ष बासुदेव लम्साल, नेपाल मानव अधिकार संगठन धादिङका सभापति कृष्ण राज अधिकारी, निवृत्त शिक्षक संघ समाज धादिङका अध्यक्ष केशरी प्रसाद पन्त, नीलकण्ठ बहुमुखी क्याम्पसका प्रमुख नवराज शर्मा लगायत विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधीहरुको आतिथ्यता रहेको थियो ।
सभ्य समाज निर्माण गर्ने आधार स्तम्भहरू भाषा, साहित्य, सङ्गीत, कला, संस्कृति, ज्ञानविज्ञान, प्रविधि, समाजशास्त्र र दर्शनशास्त्रको जगमा उभिएर सिर्जनशीलता र नव प्रवर्तनलाई प्रश्रय दिन सकियो भने पहिचानसहितको विविधता, विशिष्टता तथा मौलिकताको वृद्धि हुने अपेक्षाका साथ नीलकण्ठ नगरपालिका धादिङद्वारा उक्त प्रतिष्ठानको स्थापना गरिएको प्रतिष्ठानको अध्यक्ष बद्री प्रसाद दाहालले बताउनुभयो । उहाँले प्रतिष्ठान स्थापना, व्यवस्थापन, सञ्चालन र सहकार्यमा प्रत्यक्ष अप्रत्यक्ष योगदान गर्नुहुने व्यक्तित्वहरूमा धन्यवाद व्यक्त गर्नुहुदै प्रतिष्ठानलाई थप परिपक्व बनाउन सम्पूर्ण विद्वान वर्गबाट ऊर्जाका पृष्ठपोषण निरन्तर प्राप्त भइरहेको बताउनुभयो ।
स्थापनाको दुई वर्ष पूरा गरी तेस्रो वर्ष प्रवेश गर्दाको अवधिसम्म प्रतिष्ठानले सम्पन्न गरेका र अघि सारेका साना प्रयासहरू फेसबुक पेज, संस्थाको वेबसाइट, सूचना पाटी, प्रज्ञा प्रवाह पुस्तकको प्रकाशनमार्फत सार्वजनिक गरिरहेको प्रतिष्ठानको सचिव प्रकाश पौडेलले बताउनुभयो ।
नीलकण्ठ प्रज्ञा प्रतिष्ठानले प्राज्ञिक रत्नहरूको उचित संरक्षण, संवर्धन एवं नवप्रवर्तन गर्ने ध्येयकासाथ विमर्श, अनुसन्धान, प्रकाशन, प्रतियोगिता, प्रशिक्षण, पुस्तकालय सञ्चालनजस्ता सिर्जनशील रचनात्मकताको विविध कार्यहरु गर्दै आईराखेको छ ।
प्रतिक्रिया दिनुहोस