धादिङ १६ पौष
उत्तरी धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर ३ मा अध्यक्ष कप खुल्ला भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।
सोमबार गंगाजमुना गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राजकुमार गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गंगाजमुना गाउँपालिका उपाध्यक्ष रामेश्वर सिंम्खडाको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै गाउँपालिका प्रवक्ता एवंम वडा नम्बर ५ का वडा अध्यक्ष कुमार बहादुर अधिकारी, वडा नम्बर ४ का वडा अध्यक्ष प्रेम बहादुर घलेको बिशेष आतिथ्यता रहेको थियो ।
पौष १५ गते गुरुङहरुको महान पर्व तमु ल्होसारलाई लक्षित गरी गुम्दीको पोखरा स्थितमा पौष ११ देखि १५ गते सम्म उक्त कार्यक्रम सञ्चालन भएको थियो । कार्यक्रममा पुरुष भलिबल, भालेचरी, गोरु जुधाई, आमा समुहको डोरी तान्ने जस्ता खेलहरु सञ्चालन गरिएको थियो । पुरुष भलिबल तर्फ ११ टिम दर्ता भएकोमा कुताल समाज प्रथम, गुम्दी युवा क्लब द्धितिय र री स्कुल तृतिय भएको छ ।
प्रतियोगितामा प्रथम हुनेले ५५ हजार ५ सय ५५, द्धितियले ३३ हजार ३ सय ३३ र तृतिय हुनेले २२ हजार २ सय २२ नगद सहित सिल, मेडल र प्रमाणपत्र प्रदान गरेको छ । विधागतरुपमा उत्कृष्ट खेलाडीहरुमा वेस्ट ब्लकर बिदुर इटनी, वेस्ट स्पाइकर प्रकाश तामाङ, वेस्ट सरभर विजय गुरुङ, वेस्ट सेटर किरण गुरुङ, राईजिङ प्लेअर अम्रित क्षेत्री, वेस्ट डिफेन्डर मुक्ति तामाङ र वेस्ट प्लेअर अब्राहम तामाङ रहेका छन् ।
सम्पूर्ण उत्कृष्ट खेलाडीहरुलाई ट्रफि सिलद्धारा सम्मान गरिएको थियो । त्यस्तै आमा समुहको डोरी तान्ने खेलमा ८ वटा समूह दर्ता भएकोमा नेत्रावती आमा समूह, भूमेस्थान आमा, चिम्चोक आमा समूह र मायादेवी आमा समूहले बिजेता हासिल गरेको छ । बिजेता सम्पूर्ण समुहलाई रु ३५ सय सहित प्रमाणपत्र प्रदान गरिएको छ । त्यस्तै गोरु जुधाईमा विजेता तथा उपविजेताले नगद सहित प्रमाणपत्र प्राप्त गरेको छ भने भालेचरी खेलमा विजेताले रु २५ सय बराबरको भाले प्राप्त गरेको छ ।
त्यस्तै अध्यक्ष कप खुल्ला भलिबल प्रतियोगिता कार्यक्रमको अवसरमा गंगाजमुना गाउँपालिका वडा नम्बर ३ छेलाङ निवासी तेक्वान्दो खेलाडी धन बहादुर गुरुङलाई सम्मान गरेको छ । गुरुङले स्वदेश तथा विदेशमा तेक्वान्दो खेलबाट जिल्ला तथा देशको नाम राख्न सफल भएकाले उहाँलाई सम्मान गरिएको हो । गुरुङ हाल गजुरी गाउँपालिकाको तेक्वान्दो खेल प्रशिक्षकको रुपमा कार्यरत हुनुहुन्छ ।
बृहत कार्यक्रममा स्थानीयहरुले संस्कृतिक नृत्य समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा कार्यपालिका सदस्य, वडा सदस्यहरु, गाउँपालिका शिक्षा प्रमुख, स्वास्थ्य प्रमुख, महिला तथा बालबालिका शाखा प्रमुख, सम्पूर्ण विद्यालयका प्रधानाध्यापक एवंम प्रतिनिधी, महिला समूह, आमा समूह, टोल विकास समितिका प्रमुख एवंम प्रतिनिधी, खानेपानी उपभोक्ता समितिका प्रमुख एवंम प्रतिनिधी, विभिन्न राजनीतिक दलका प्रमुख एवंम प्रतिनिधी, सुरक्षाकर्मी तथा समाजसेवी बुद्धिजीवि पत्रकार व्यक्तित्वहरुको भव्य सहभागीता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस