परेम बहादुर तामाङ (प्रेम)
धादिङ २१ मङ्सिर
उत्तरी धादिङको खनियाबास गाउँपालिका वडा नं. २ साविकको झार्लाङ ३ को तर्ची, कोखिम, मेयम, गर्चो, प्रम्चेत, कलङ्गु, कोदिङ तथा साविक झार्लाङ ७ को नेक्राङ लगायतका वस्ती अहिले झिलिमिली भएपछि स्थानीयहरु हर्षित भएका छन् । नेपाल विद्युत प्राधिकरणको टेन्डरमार्फत लेकाली निर्माण सेवा कम्पनीले निर्माण सम्पन्न गरेपछि सो स्थानमा विजुली बत्ती बल्न थालेका हुन् । हालसम्म केन्द्रीय प्रशारण लाइन नपुगेको ती स्थानहरुमा स्थानीय राजनीतिज्ञ, समाजसेवी मङ्ग तामाङ लगायतको विशेष पहलमा पोल गाड्ने, तार टाग्ने, ट्रान्सर्फमर जडान जस्ता काम सम्पन्न भएपछि बत्ती बल्न थालेको हो । गाउँमा बिजुली बत्ती आएसँगै रातीको समयमा राम्रोसँग अध्ययन गर्न पाइने भएकाले विद्यार्थीहरु खुसी भएका छन् । यस्तै फर्निचर, मिल जस्ता साना उद्योगहरु सञ्चालन गर्न गाउँमै पाइने भएको छ । विद्यालयमा नयाँ प्रविधीहरु जस्तै कम्प्युटर, प्रोजेक्टर, अडियो, भिडियोका माध्यमद्धरा कक्षा सञ्चालन गर्नका लागि अब अत्यन्त सहज भएको झार्लाङ माध्यमिक विद्यालयका प्रधानाध्यापक विरेन्द्र प्रसाद चौधरी बताउँछन् । बच्चाहरुलाई लगाउन पर्ने अत्यावश्यकीय खोप, विभिन्न प्रकारका भ्याक्सिनहरु राख्नको लागि फ्रिज, सुत्केरीलाई न्यानो पार्नको लागि हिटर, स्वास प्रस्वास सम्बन्धी नेफोलाइजर सञ्चालनको लागि सहयोग पुग्ने झार्लाङ स्वास्थ्य चौकी इन्चार्ज राज बहादुर तामाङ बताउँछन् ।
प्रतिक्रिया दिनुहोस