धादिङ १२ पौष
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ मा रहेको रामकोट बृहत जल उपभोक्ता संस्थाले खानेपानी महशुल तिर्न बाँकी उपभोक्ताहरुको धाराको लाईन काट्ने भएको छ ।
संस्थाले शुक्रबार एक सूचना जारी गर्दै खानेपानी महशुल तिर्न बाँकी उपभोक्ताहरुको धाराको लाईन काट्ने जानकारी दिएको हो ।
संस्थाले जारी गरेको सूचनामा धेरै समय अगाडि देखि खानेपानी महशुल तिर्न बाँकी भएको र पटक पटक पत्राचार तथा फोन सम्पर्क गर्दा पनि महशुल नबुझाउनु भएकोले २०८१ पुष ६ गतेको निर्णय अनुसार महशुल बुझाउन बाँकी उपभोक्ताहरुको धाराको लाईन काट्ने सूचनामा उल्लेख गरिएको छ ।
साथै ७ दिन भित्र अर्थात मिति २०८१ पुष १८ गते सम्म उक्त सूचनालाई आधार मानी रामकोट बृहत् जल उपभोक्ता संस्थाको कार्यलयमा महशुल बुझाउन अनुरोध गरिएको छ । यदि तोकिएको समय भित्र महशुल नबुझाएमा धाराको लाईन काट्ने सोही सूचना मार्फत जानकारी गराएको छ ।
साथै धारा काटिसकेपछि पुनः जडान गर्नुपरेमा समितिको निर्णय बमोजिम हुने समेत सुचनामा उल्लेख गरिएको छ ।
साथै सोही उपभोक्ता समितिले खानेपानी तथा सिंचाई महशुल दर निर्धारण गरेको छ ।
उक्त संस्था अन्तर्गत विभिन्न विद्युतीय लिफ्ट, ग्र्याविटि तथा सोलार लिफ्ट लाईनबाट वितरण भएको खानेपानी तथा सिंचाईको महशुल दर पुष ६ गतेको वडा स्तरीय निर्णय बमोजिम कायम गरिएको संस्थाको व्यवस्थापक सरिता श्रेष्ठ (मगर)ले जानकारी दिनुभयो ।
पाखिखोला, विर्तावेशी, ससाह खानेपानी लाईन,च्याँड्खोला, सिमलिघारी, तल्लोहटिया सोलार लिफ्ट लाईन, थोपलखोला, ससाह देउराली, सानटार सोलार लिफ्ट लाईन र थोपलखोला, तीनतले, तल्लो कुमालगाँऊ, अमरावति, ठुलो कुमालगाँऊ सोलार लिफ्ट लाईनमा लागु हुनेगरि खानेपानि तर्फ र कृषि मिटर (सिंचाई) तर्फको छुट्टा छुट्टै शुल्क निर्धारण गरिएको हो ।
खपत युनिट (१ हजार लिटर) को दरले खानेपानी तर्फ शुन्य देखि दुई हजार युनिट सम्म निःशुल्क, दुई हजार युनिटबाट पाँच हजार युनिट सम्म विद्युतिय लिफ्ट तर्फ र ग्र्याविटि लाईन दुवै तर्फ न्युनतम १ सय ५० रुपैयाँ, पाँच हजार युनिटदेखि १० हजार सम्म विद्युतिय लिफ्ट तर्फ ३५ रुपैयाँ र ग्र्याविटि लाईन तर्फ १७. ५० रुपैयाँ, १० युनिट देखि ३० सम्म विद्युतिय लिफ्ट तर्फ ४० रुपैयाँ ग्र्याविटि लाईन तर्फ १५ रुपैयाँ र ३० युनिट देखि माथी उठेको खण्डमा विद्युतिय लिफ्ट तर्फ ४० र ग्र्याविटि लाईन तर्फ १० रुपैयाँ शुल्क निर्धारण गरेको छ ।
त्यसैगरि कृषि मिटर (सिंचाई) तर्फ शुन्य देखि ३० युनिट सम्म ग्र्याविटि लाईन तर्फ न्युनतम ३०० रुपैयाँ र सोलार लिफ्ट तर्फ न्युनतम ५०० रुपैयाँ, ३० युनिट देखि ५० सम्म ग्र्याविटि लाईन तर्फ १० रुपैयाँ र सोलार लिफ्ट तर्फ २० रुपैयाँ र ५० युनिट देखि माथी उठेको खण्डमा ग्र्याविटि लाईन तर्फ १५ रुपैयाँ र सोलार लिफ्ट तर्फ २५ रुपैयाँ शुल्क निर्धारण गरेको छ ।
प्रतिक्रिया दिनुहोस