धादिङ १० पौष
धादिङको नेत्रावती डब्जोङ गाउँपालिका वडा नम्बर १ मार्पाकमा रहेको निरञ्जना माध्यमिक विद्यालयको ६२औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष डोल बहादुर अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष मेघनाथ रिजालको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै गाउँपालिका उपाध्यक्ष सीतामाया गुरुङ, एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय अध्यक्ष शंकर अधिकारी लगायतको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहुदै गाउँपालिका अध्यक्ष रिजालले नेत्रावती डब्जोङ गाउँपालिकामा निःशुल्क शिक्षा निति लागु गर्ने अभियानमा अगाडी बढेको बताउनुभयो । उक्त विद्यालयले गाउँपालिका भरिमा एउटा मात्र प्राविधिक धार तर्फको कक्षा सञ्चालन गरिरहेकाले आगामी वर्षहरुमा विशेष प्राथमिकताका साथ सहयोग गर्ने बताउनुभयो ।
अध्यक्ष रिजालले विद्यालयको शैक्षिक गुणस्तरलाई वृद्धि गर्न गाउँपालिका सरकार निरन्तर लागिरहेको स्पष्ट पार्नुभयो ।
त्यसैगरि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अधिकारीले निरञ्जना माध्यमिक विद्यालयमा सञ्चालित प्राविधिक शिक्षालयलाई गाउँपालिकाले स्वामित्व ग्रहण गर्न आवश्यक रहेको बताउनुभयो ।
विद्यालयमा अक्षयकोष स्थापनाको लागि रकम सहयोग गर्नुहुने सहयोगीदाता, शिक्षक अभिभावक, उत्कृष्ट विद्यालय कर्मचारीलाई सम्मान गरिएको थियो भने विद्यालयको खेल सप्ताहमा सहभागी विजेता खेलडीलाई पुरस्कार तथा मायाको चिनोले सम्मान समेत गरिएको थियो ।
उक्त कार्यक्रममा विभिन्न राजनितिक दलका प्रतिनिधीहरु, विभिन्न विद्यालयका प्रतिनिधीहरु, शिक्षक, अभिभावक र पत्रकार लगायत स्थानीय नागरिहरुको भव्य सहभागीता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस