धादिङ १० पौष
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ५ फ्याक्सेमा रहेको पञ्चकन्या माध्यमिक विद्यालयको ४८ औं बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
मंगलबार विद्यालय व्यबस्थापन समितिका अध्यक्ष गोबिन्द श्रेष्ठको अध्यक्षता, नीलकण्ठ नगरपालिकाका प्रमुख भीम प्रसाद ढुङ्गानाको प्रमुख आतिथ्यता र उपप्रमुख दिपक विश्वकर्मा, नेकपा माओवादी केन्द्र धादिङका संयोजक मनराज भण्डारी, नीलकण्ठ नगरपालिकाको कार्यपालिका सदस्य लक्ष्मण रम्तेल र वडा ५ का वडाध्यक्ष राम बहादुर श्रेष्ठको विषेश आतिथ्यतामा विद्यालयको ४८औं वार्षिकोत्सव, अभिभावक दिवस तथा खेलकुद सप्ताह समापन एवम् पुरस्कार वितरण समारोह सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै कार्यक्रमका प्रमुख अतिथि ढुङ्गानाले नीलकण्ठ नगरपालिकाले शिक्षाको क्षेत्रमा उल्लेख्य कार्य गरेको बताउनुभयो । उहाँले भौतिक बिकास संगसंगै सामाजिक विकास पनि आवश्यक भएको बताउनुभयो । अहिले वर्तमान परिवेशमा युवाहरु सबै विदेशिने लहर बढिरहदा ति दक्ष जनशक्तिलाई आफ्नै गाउँठाउँमा रोजगारी दिएर टिकाईराख्न नीलकण्ठ नगरपालिकाले पहल गरेको बताउनुभयो ।
त्यस्तै कार्यक्रमका विशेष अतिथि विश्वकर्माले विद्यालय र विद्याथीहरुको सम्पुर्ण पठन पाठनको दायित्व र जिम्मेवारी स्थानीय सरकारले लिएको बताउनुभयो । विगतको समयमा विद्यालयमा तिर्ने फि र किताब कलम किन्ने पैसा नभएर विद्यालय जानबाट बञ्चित हुनुपर्ने बाध्यतालाई स्थानीय सरकारले निशुल्क शिक्षा नीति लागु गरेर अन्त्य गरिदिएको बताउनुभयो ।
त्यसैगरि नेकपा माओवादी केन्द्र धादिङका संयोजक भण्डारीले सरकारी, सर्वसुलभ,वैज्ञानिक, व्यवहारिक र रोजगारमुलक शिक्षालाई निरन्तर रुपमा अगाडी बढाउनका लागि पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा विद्यालयमा अक्षयकोष स्थापनाको लागि रकम दान गर्नुहुने समाजसेवी छत्र बहादुर श्रेष्ठ , कक्षा १२ संचालनका लागि रकम सहयोग गर्नुहुने दाता समाजसेवी कमल जम्कट्टेल तथा भलिबल खेल सम्पन्न गर्न सहयोग गर्नुहुने भलिबल प्रशिक्षक हरि बहादुर श्रेष्ठलाई सम्मान गरिएको थियो ।
साथै कार्यक्रममा अभिभावक खेल पुरस्कार, एसइइ २०८० उत्कृष्ट गणेश प्रसाद अगस्ती र जेहेन्दार विद्यार्थी कक्षा १२ का तोक बहादुर आले मगरलाइ डम्बर स्मृति छात्रवृत्ति जस्ता विविध पुरस्कार वितरण गरिएको थियो भने अन्तरविद्यालय आधारभूत तह कक्षा ४–५ र ६–८ को खेलहरुमा विजयी हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
फोटो फिचर
प्रतिक्रिया दिनुहोस