धादिङ ७ पौष
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर -८ मा आधुनिक कृषि प्रवर्धनका लागि ३ दिने तालिम सम्पन्न भएको छ ।
आईतबार एक कार्यक्रमको आयोजना गर्दै ३ दिने कृषि, वन, घरेलु, नर्सरी तथा अर्गानिक मल व्यवस्थापन तालिम सम्पन्न गरिएको हो ।
अनन्त आशा नेपालको आयोजना, अनन्त आशा ईन्टरनेशनल यु एस ए को अर्थिक सहयोग, र नीलकण्ठ नगरपालिका वडा नम्बर ८ को समन्वयमा पौष ५ गते शुक्रबारबाट सुरु भएको तालिमको आईतबार विधिवत रुपमा समापन गरिएको हो ।
नीलकण्ठ नगरपालिकाको प्रवक्ता एवम् वडा नम्बर ८ का वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको समापन कार्यक्रममा अनन्त आशाको सल्लाहकार लु टोटमेन, वडा सदस्य छवि प्रसाद काप्री, नीलकण्ठ नगरपालिकाको कृषि शाखाको कृषि प्राविधिक सहायक विजय श्रेष्ठ र तारा बहादुर खत्रीको विशेष आतिथ्यता रहेको थियो । ३ दिन सम्म सञ्चालन भएको उक्त तालिमलाई ईथाक नेपालका प्रशिक्षक डा. विष्णुहरि पण्डितले सहजीकरण गर्नुभएको थियो । तालिममा अर्गानिक मल बनाउने र बायोचर मल कसरी बनाउने र कसरी प्रयोग गर्ने भन्ने विषयमा प्रशिक्षण गराईएको अनन्त आशा नेपालका कार्यक्रम संयोजक ध्रुवराज ज्ञवालीले रेडियो बिहानीलाई जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष श्रेष्ठले सम्पुर्ण कृषकहरुले अर्गानिक मल प्रयोग गर्नुपर्ने कुरालाई जोड दिनुभएको छ । रासायनिक मलले माटोको उर्वरा शक्ति घटाउने र उत्पादन कम हुने भएकाले सके सम्म रासायनिक मलको प्रयोग नगर्न सल्लाह दिनुभएको छ । उहाँले माटोको उर्वरा शक्ति जोगाउन र वातारणलाई संरक्षण गर्नका लागि आफ्नै गाउँठाउँमा हुने गरेको कच्चा सामग्रीबाट अर्गानिक मल बनाई प्रयोग गर्न जोड दिनुभएको अनन्त आशा नेपालका कार्यक्रम संयोजक ज्ञवालीले जानकारी दिनुभयो ।
धादिङको वडा नम्बर ८,९ र चितवनको ईच्छाकामना र कालिका नगरपालिका को गरेर २९ जना सहभागि भएका थिए । सम्पुर्ण प्रमुख अतिथि र विशेष अतिथिहरुले सहभागिहरुलाई प्रमाण पत्र वितरण गर्नुभएको थियो भने सहभागिहरुले तालिम अवधिभरको आफ्नो अनुभवहरु अनुभव साटासाट गर्दै तालिम बाट सिकेको हरेक सिपलाई आफ्नो दैनिक जिवनमा लागु गर्ने बताउदै कृषि, वन, घरेलु, नर्सरी तथा अर्गानिक मल व्यवस्थापन तालिम प्रदान गरि आफुहरुलाई थप सिक्ने मौका प्रदान गर्ने सम्पुर्णमा धन्यवाद ज्ञापन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस