धादिङ ६ पौष
आयुर्वेद तथा वैकल्पिक चिकित्सालय धादिङको आयुर्वेद सेवा प्रवर्धन गर्न पत्रकारहरुसँग अन्तरक्रिया गरिएको छ ।
शुक्रबार पत्रकारहरुसंग एक कार्यक्रमको आयोजना गर्दै आर्थिक बर्ष २०८१/८२ को वार्षिक कार्यक्रम सार्वजनिक समेत गरिएको थियो ।आर्थिक वर्र्ष २०८१/८२ को हालसम्ममा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय धादिङबाट १ हजार ६ सय ९९ जना नागरीक आरोग्य सेवा केन्द्र धादिङबाट ५ हजार ७ सय ७७ र आयुर्वेद औषधालयबाट ११ हजार ९०२ जनाले सेवा लिएको कार्यालयका प्रमुख डा. अमुल्य दाहालले जानकारी गराउनु भएको थियो ।
२०७९ मंसिर १८ गतेबाट सुरु भएको उक्त आयुर्वेदको वेरुजु शुन्य रहेको छ । आयुर्वेदले २०८०/८१ मा बहिरंग सेवा, प्याथोलोजी ल्याब, पूर्वकर्म/पञ्चकर्म, अकुपञ्चर सेवा, फिजियोथेरापी सेवा, ३२ प्रकारको निशुल्क औषधी बितरण, मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम, ज्येष्ठ नागरिक स्वास्थ्य प्रवर्धन कार्यक्रम, स्तनपायी आमालाई दुग्धबर्धक औषधी बितरण कार्यक्रम, सुचना सम्प्रेषण तथा प्रचारप्रसार स्वस्थ जीवन कार्यक्रम, विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम, भान्साघर औषधालय कार्यक्रम, पथ्य आहार कार्यक्रम लगायतको कार्यहरु गरेको छ । जसमध्ये मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम अन्तरगत ४ सय ६४ जना महिला र २ सय ३६ जना पुरुष गरि ७ सय जनाले स्क्रिनिङ सेवा लिएका छन् ।
हाल आ.व २०८१/०८२मा यस चिकित्सालयको कुल बजेट २ करोड १६ लाख रहेको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा विशेष गरी अम्लपित्त,(ग्याष्ट्रिक) सन्धिगत,(घुँडा दुख्ने) अर्श,(पायल्स) कटिशुल्क, ग्रहणी,(पेट सम्बन्धी रोग) फिसर(रगत बग्ने) उच्च रक्तचाप, उदर रोग(पेट दुखाई) कास,(खोकी) दम,(श्वासप्रश्वासमा समस्या) जस्ता रोगहरुको बिरामीको चाप बढेको डा.दाहालले बताउनुभयो ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयका कार्यालय प्रमुख अमूल्य दाहालको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा तथा प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरी जनस्वास्थ्य कार्यालय प्रमुख विभु कुमार झा, पत्रकार महासंघ धादिङका अध्यक्ष सिताराम अधिकारीको विशेष आतिथ्यता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस