धादिङ २ पौष
धादिङको गजुरी गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।
मंगलबार गजुरी गाउँपालिकाको आयोजनामा एक भव्य कार्यक्रमको आयोजना गर्दै प्रतियोगिताको उद्धघाटन गरिएको हो ।
गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठको अध्यक्षता र बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री शलिकराम जमरकट्टेलको प्रमुख अतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला खेलकुद विकास समिति धादिङको अध्यक्ष प्रताप सिंह तामाङको विशेष आतिथ्यता रहेको थियो ।
उद्धघाटन समारोहलाई सम्बोधन गर्नुहुदै कार्यक्रमका प्रमुख अतिथि एवम् बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री शलिकराम जमरकट्टेलले आफु सरकारमा रहदा र नरहदा समग्र धादिङ जिल्लाको खेलकुद पुर्वाधार र पर्यटन विकासमा महत्वपुर्ण ढंगले सहयोग गरेका बताउनुभयो । उहाँले सम्पुर्ण आयोजक तथा सहभागी खेलाडीहरुलाई शुभकामना दिनुहुदै खेललाई मर्यादित र अनुशासित ढंगले खेल्न आग्रह गर्नुभयो ।
जिल्ला खेलकुद विकास समिति धादिङको अध्यक्ष प्रताप सिंह तामाङले गजुरी गाउँपालिका नमुना गाउँपालिका भएको बताउनुभयो । गाउँपालिकाले सदैव प्रतिभाको कदर गर्ने र प्रतिभाहरुलाई प्रस्फुटन हुने मौका दिएर सराहनीय कार्य गरेको बताउनुभयो । उहाँले विद्यालय खेलकुदको मुहान भएको र विद्यालयहरुले पठन पाठन संगै खेलकुदलाई पनि अगाडी लैजानुपर्ने बताउनुभयो ।
गाउँपालिकाको अध्यक्ष गणेशलाल श्रेष्ठले खेलाडीहरुलाई हौसला प्रदान गर्नुहुदै खेललाई हार र जितको रुपमा नभई व्यत्तिगत क्षमतालाई प्रस्फुटन गराउनका लागि खेल्न आग्रह गर्नुभयो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ, गाउँपालिका उपाध्यक्ष शर्मिला बिशुराल, वडाका वडा अध्यक्षहरु, गाउँपालिका कर्मचारीहरु, भविभावक, खेलप्रेमी तथा खेलाडीहरु र पत्रकारहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस