धादिङ २७ मंसिर
मंसिर २८ गते हुने नेपाल पत्रकार महासंघ गोरखाको निर्वाचन स्थगित भएको छ ।
शाखाले मंगलबार दिउसो एक बिज्ञप्ती जारी गर्दै सदस्यता विवादका कारण चुनाव स्थगित भएको जनाएको हो । अध्यक्ष नरहरी सापकोटा र सचिव बिकास मरहट्टाद्वारा जारी बिज्ञप्तीमा सदस्यता सुद्विकरण बिषयमा जिल्ला शाखाले गरेको निर्णय कार्यान्वयन नभएकाले निर्वाचन गराउन नसकिएको उल्लेख गरिएको छ ।
जारी बिज्ञप्तीमा ‘जिल्लामा प्राप्त मतदाता नामावलीको सम्वन्धमा जिल्ला शाखाले गरेको सिफारिस विपरित रहेको र केन्द्रसंग असहमतिसहित संशोधनका लागि औपचारिक रुपमा पटक पटक आग्रह गर्दा पनि केन्द्रले वेवास्ता गरेको कारण निर्वाचन प्रकृया नै अन्यौलमा पुगेको’ भनिएको छ । देशैभर हुने निर्वाचन कार्यक्रम तालिका अनुसार मंगलबार देशैभरको ७७ जिल्लामा जिल्ला शाखाको समितिको लागि उम्मेदवारी दर्ता गराउने कार्यक्रम रहेको थियो ।
शाखाले चुनाव स्थगित गरेसंगै चुनावको मिति अन्यौल भएको छ । यता चुनावी प्रकृयाको थालनी हुने आशामा १ दर्जनभन्दा बढी महासंघमा आवद्व सदस्यहरु महासंघको शाखा कार्यालय रहेको भवनमा पुगेका थिए । मंगलबार दिउसो ३ बजेसम्म पनि चुनावी प्रकृयाको थालनी नगरेपछी उनीहरु सबै फर्किएका थिए ।
नेपाल पत्रकार महासंघ केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार गोरखा जिल्लामा हुन लागेको निर्वाचनका लागि मनोनयन स्थागित भएको बिरोधमा प्रेस सेन्टर नेपाल गोरखाले कडा आपत्ती जनाएको छ । केन्द्रीय निर्वाचन तालिका अनुसार मंगलबार जिल्ला शाखामा मनोनयन दर्ता प्रक्रिया सुरु गर्नुपर्नेमा उल्टै कार्यसमितिको बैठक नै नवसी अध्यक्ष र सचिवले आफुखुशी निर्वाचनका सवै प्रक्रिया स्थगनको घोषणा गरिएको सूचना सामाजिक सञ्जालबाट प्राप्त हुनुले संगठनलाई स्तव्ध बनाएको बिज्ञप्तिमार्फत उल्लेख गरिएको छ ।
त्यस्तै प्रेस चौतारी नेपाल, गोरखा शाखाले नेपाल पत्रकार महासंघ गोरखा शाखाले सूचना निकालेर निर्वाचन स्थतगित गर्नु षडयन्त्र भएको बताएको छ । शुक्रबार हुने निर्वाचन स्थगित भएको सूचना जारी गरे लगत्तै चौतारीले प्रेस विज्ञप्ती जारी गर्दै षडयन्त्र भएको भनेको हो । केन्द्रिय सदस्य एवं जिल्ला ईन्चार्ज किरण लोहनी र जिल्ला अध्यक्ष सुजन न्यौपाले संयुत्त हस्ताक्षर गरेर जारी गरेको बिज्ञप्तीमा ‘गोरखामा निर्वाचन समिति गठन नगरिनु र मनोनयनका दिन दिउसोँ मात्र शाखाकै तर्फबाट निर्वाचन स्थगित गरिएको आकस्मीक बिज्ञप्ती प्रकाशित हुनु षडयन्त्र बाहेक केही हुन सक्दैन’ भनेको छ ।
प्रतिक्रिया दिनुहोस