धादिङ मंसिर २४
धादिङको खनियावास गाउँपालिका वडा नं ५ स्थित बच्छला माध्यमिक विद्यालयमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत एकदिने सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
खनियावास गाउँपालिकाको आयोजनामा तथा प्रयास नेपाल धादिङ र आड्रा नेपालसंगको साझेदारीतामा संचालित उत्थानशील जिविकोपार्जन तथा खाद्य सुरक्षा सुढृढिकरण परियोजना सहकार्यमा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो ।
सचेतनामुलक कार्यक्रममा महिला समूह, सामुदायिक संस्थाका प्रतिनिधिहरु, कृषक समुहका प्रतिनिधिहरु, बच्छलादेवी माध्यमिक विद्यालयका कक्षा ८ देखि १० का विद्यार्थीहरु र जनप्रतिनिधि लगायत गरी ८९ जनाको सहभागितामा रहेको थियो । खनियावास गाउँपालिका वडा नं ५ का वडाध्यक्ष रविन कुमार तामाङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा लैंगिक हिंसाका कारण, प्रभाव र रोकथामका उपाय र सिफारिस प्रणालीकोबारे छलफल गरिएको लैंगिक सहायक शर्मिला गुरुङले बताउनु भयो ।
कार्यक्रममा धादिङ जिल्ला र खनियावास गाउँपालिकामा महिलाहरुको अवस्था ,सवालहरु तथा बालविवाहको अवस्था ,असर र लैंगिक हिंसाका कारण, हिंसाले पार्ने असर र हिंसा तथा वालबिवाह रोक्न व्यक्ति, महिला समूहका सदस्यहरु, बाल क्लबका पदाधिकारीहरु सामाजिक कार्यकर्ता, वडा कार्यालय, महिला तथा बालबालिका शाखा र कार्यपालिकाको भूमिका र उत्तरदायित्वका बारेमा अन्तरक्रिया भएको थियो ।
कार्यक्रममा प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्याल तथा सहजकर्ता रेनुका रुपाखेती, लैंगिक सहायक शर्मिला गुरुङ र खनियावास गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख सन्ध्या उपाध्यायले सहजीकरण गरेका थिए ।
कार्यक्रमको अन्त्यमा सहभागीहरुले सामुदायिक प्रतिबद्धता व्यक्त गर्दै, म हिंसा गर्दिन, म हिंसा सहदिन, र हिंसा भएको देखेमा प्रतिकार गर्नेछुू भनी हस्ताक्षर गरेका छन् ।
यस्ता सचेतनामुलक कार्यक्रमले स्थानीय स्तरमा लैंगिक हिंसा रोकथाम र बालविवाह न्यूनीकरण गर्न सहयोग पुग्ने र कार्यक्रमलाई फलदायी रहेको भन्दै यस्ता सचेतनामूलक अभियानलाई निरन्तरता दिने वडाध्यक्ष रविन कुमार तामाङले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस