धादिङ १९ मंसिर
एक वर्षभित्र घर, माइती र मावली सार्र्ने अनौठो परम्परा बोकेको त्रिपुरासुन्दरी भगवती माइको प्रतिमूर्तिलाई बुधबार बिहान माइतीघर सारिएको छ ।
सयौं मानिस बाटोको दायँबायाँ बसेर पूजाआजा र अविरजात्रा गर्दै भगवतीको घर सल्यानकोट डाँडाको मन्दिरबाट माइतीको रुपले चिनिने माइथानबेंसीको मन्दिरमा सारिएको हो । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–४ सल्यानकोटबाट त्रिपुरा सुन्दरी भगवतीको प्रतिमूर्तिलाई मंसिर महिनाको विशेष तिथि पारेर त्रिपुरासुन्दरी गाउँपालिका–६ हाँसेबजारस्थित माइथानबेंसी सार्ने परम्परा छ ।
अझ रोचक त के छ भने बाकसभित्र राखिएको भगवतीको प्रतिमूर्तिलाई भक्तजनले हेर्न र छुन पाइदैन । स्थानीय पुजारी अर्जुन सापकोटा भन्नुहुन्छ– ‘विशेष किसिमको बाकसमा पूजा कपडाले घुम्टो ओडाएर राखिएको मूर्ति खोलेर हेर्न र छोएर दर्शन गर्न नपाइने परम्परा अनुसार बाटोको बायाँबायाँ बसेर देवीको दर्शन गर्ने र बाहिरबाटै फूल अक्षेता चडाउनुपर्ने नियम छ ।’ विवाहित नेपाली नारीले धेरैजसो समय आफ्नो कर्मघरमा बिताउनुपर्ने, दसैँतिहार जस्ता चाडबाडमा मामाघर जानुपर्ने र हिउँदमा फुर्सद मिल्ने भएकाले केही बढी समय माइतीमा बस्न पाउने चलनसँग भगवतीको विभिन्न मन्दिरको बसाईंलाई तुलना गरिएको छ ।
वडा दसैँको चतुर्थीको दिन पूर्वतर्फ दसैँ घरबाट मूल मन्दिर सल्यानकोट सारिएको मूर्तिलाई बुधबार बिहानै न्वागी घर आगिञ्चोक हाँसेबजार मन्दिरमा सारिएको हो । रानामगर थरका पुजारीले मात्र छुन मिल्ने त्यस मूर्ति कस्तो आकारको छ वा त्यस बाकसभित्र के छ भनेर आम सर्वसाधारणले अहिलेसम्म देख्न पाएका छैनन् । “प्रत्यक वर्ष मेला हेर्न आउँछौँ, तर छुन हेर्न पाइने भन्ने हुँदैन । परम्परादेखि नै चलिआएको चलन हो, हामीले यहि परम्परा मानेर पूजाआजा गरिरहेका छौं’, सापकोटाले भन्नुभयो । रानामगर, तिमिल्सिना र सापकोटा थरका पुजारीले त्रिपुरा सुन्दरी भगवतीमाइको मूर्तिलाई पिँठ्युँमा बोकेका थिए । वर्षमा तीन पटक मूर्तिलाई यसरी नै बोकेर मन्दिर सार्ने गरिन्छ ।
कपाल मात्र देखिने भगवतीको प्रतिमूर्तिलाई अघिअघि पञ्चेबाजासँगै नाङ्गो खुँडा, खुकुरी बोकेका युवाहरु, त्यसपछि दियो, कलश, शंख, घण्टसहितका नरनारी, प्रहरी र भक्तजनले बनाएको हाते साङ्लोको घेराभित्र राखेर विशेष सुरक्षा अपनाइएको थियो । सल्यानकोटमा रहेको दुई वटा मन्दिरमध्ये घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म भगवतीलाई पूर्वपट्टिको मन्दिरमा राखेर पूजाआजा गरिन्छ । जुन मामाघरका रुपमा प्रसिद्ध छ । मङ्सिरदेखि चैतसम्म भगवतीलाई माइतिको रुपले चिनिने बेंसीको मन्दिरमा राखिन्छ । बाँकी आठ महिना सल्यानकोटकै पश्चिम थुम्कामा रहेको मुल मन्दिर राखेर पूजाआजा गरिने चलन छ ।
नेपाल एकीकणका बेला पृथ्वीनारायण शाहले छिमेकी जिल्ला गोरखाबाट नुवाकोट आक्रमण गर्न जाँदा यही मन्दिर छेउमा बास बसेको र राति सपनामा एक बालिकाले आशीर्वाद दिएको प्रसङ्ग दिव्योपदेशमा उल्लेख छ । तर भगवतीको माइतीका रुपमा परिचित माइथानबेंसीको मन्दिर राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजनाले प्रभावित बन्ने भएको छ । सरकारले व्यवस्थित ढंगबाट स्थानान्तरण गरेर पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्ने स्थानीयको माग छ ।
प्रतिक्रिया दिनुहोस