धादिङ १९ मङ्सिर
गाउँ नगरमा महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य प्रबद्र्धनमा अहम भूमिका भन्ने मूल नाराका साथ १६ औँ महिला स्वयंसेविका दिवस धादिङमा पनि भव्यताका साथ मनाइएको छ । नीलकण्ठ नगरपालिका, स्वास्थ्य कार्यालय धादिङ, अपाङ्ग कल्याण संघ धादिङ लगायतको आयोजनामा भएको कार्यक्रममा नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङ्गानाको सभापतित्व रहेको थियो । यस्तै उप मेयर मनराज भण्डारी विशेष आतिथि रहनुभएको कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्ष, जनप्रतिनिधि, नीलकण्ठ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णु रिजाल, स्वास्थ्य कार्यालय धादिङका प्रतिनिधि, नगरपालिकाभित्रका महिला स्वास्थ्य स्वयंसेविकाहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । धादिङ जिल्लाभर ४ सय ६३ जना महिला स्वास्थ्य स्वयंसेविका रहेकोमा नीलकण्ठ नगरपालिकाभित्र जम्मा ६४ जना महिला स्वास्थ्य स्वयसेविकाहरु रहेका छन् ।
कार्यक्रममा आफ्नो धारणा राख्दै महिला स्वास्थ्य स्वयंसेविकाहरुले प्राथमिक उपचार र प्रजनन स्वास्थ्यको क्षेत्रमा महिला स्वास्थ्य स्वयंसेविकाहरुको भूमिका अत्यन्तै महत्त्वपूर्ण रहेता पनि राज्यले उचित सम्मान सेवा सुविधा र तलब भत्ता दिन नसकेकोप्रति गुनासो व्यक्त गरेका थिए । आफ्नो मन्तव्य राख्दै महिला स्वास्थ्य स्वयंसेविका जिल्ला सञ्जाल धादिङकी अध्यक्ष सावित्री कोइरालाले बाल मृत्युदर र जन्मदर घटाउन तथा परिवार नियोजनदर बढाउन महिला स्वास्थ्य स्वयंसेविकाहरुको भूमिका अतुलनीय भएता पनि राज्यले उचित सम्मान, र सेवा सुविधा दिन नसकेको बताउनु भयो । कार्यक्रमका विशेष अतिथि एवं नगर उप प्रमुख मनराज भण्डारीले नीलकण्ठ नगरपालिका महिला स्वास्थ्य स्वयंसेविकाहरुको वृति, विकास र क्षेमता अभिवृद्धिमा प्रतिबद्ध भएको बताउँदै स्वयंसेविकाहरुले अवकाश हुँदा पाउने रकममा नगरपालिकाले रु. ३० हजार थप गरेको बताउनु भयो ।
यस्तै कार्यक्रमका सभापति एवं नगरप्रमुख भिम प्रसाद ढुङ्गानाले स्थानीय स्तरको स्वास्थ्य क्षेत्रलाई सुदृढ बनाउन महिला स्वास्थ्य स्वयंसेविकाहरुको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै यही आर्थिक वर्षमा नगरपालिकाभित्रका महिला स्वास्थ्य स्वयंसेविकाहरुको अवलोकन भ्रमण गराउने प्रतिबद्धता जनाउनु भयो । यस्तै आउँदो आर्थिक वर्षमा नगरपालिकाभित्रका सबै महिला स्वास्थ्य स्वयंसेविकाहरुको स्वास्थ्य विमा नगरपालिकाले निःशुल्क गराउने तथा पशुपालन गर्न चाहने महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई रु. १ लाख बराबरको पशु बिमा समेत नगरपालिकाले गरिदिने घोषणा गर्नुभयो ।
कार्यक्रमकै अवसर पारी वर्ष उत्कृष्ठ ७ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रमाणपत्र, दोसल्ला र नगद सहित सम्मान गरिएको थियो भने अवकाश प्राप्त ३ जना महिला स्वयंसेविकाहरुलाई जनही रु. ५० हजार, सम्मान पत्र र दोसल्लासहित सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस