धादिङ १२ मंसिर
नीलकण्ठ नगरपालिकाको दोस्रो नगरसभा तथा छैठौं अधिवेशन सम्पन्न भएको छ ।
आर्थिक वर्ष २०८१/०८२ को मंसिर ११ गते सम्ममा आउदा २० करोड ६२ लाख ५२ हजार ४ सय २५ रुपैँया २५ पैसा खर्च गरेको छ ।
१ अर्ब २२ करोड २३ लाख ९२ हजार ४ सय कुल विनियोजनको आधारमा १६.७८ प्रतिशत खर्च भएको हो । चालु आर्थिक २०८१/०८२ मा नगरपालिकाको आन्तरीक आयको प्रक्षेपण ५ करोड रुपैयाँ गरिएकोमा कार्तिक मसान्तसम्मको आन्तरीक आय १ अर्ब ३० करोड ४७ लाख ३ सय ११ रुपैयाँ २८ पैसा संकलन भएको छ ।
बुधबार सम्पन्न भएको नीलकण्ठ नगरपालिकाको दोस्रो नगरसभा तथा छैठौं अधिवेशनलाई सम्बोधन गर्दै नगर उपप्रमुख दिपक विश्वकर्माले गत आर्थिक वर्ष २०८०/०८१ को बजेट तथा खर्चको विवरण र चालु आर्थिक वर्ष २०८१/०८२ को हालसम्मको अवस्थाको बारेमा जानकारी गराउनुभएको हो ।
त्यस्तै गत आर्थिक वर्ष २०८०/०८१ मा १ अर्ब २४ करोड ७ लाख ९३ हजार २ सय २३ रुपैंयाँ ५५ पैसा कुल विनियोजित बजेट भएकोमा आर्थिक वर्षको अन्तसम्ममा १ अर्ब २ करोड ९० लाख ४५ हजार ४ सय ७० रुपैयाँ ३० पैसा खर्च भएको छ ।जुन विनियोजनको आधारमा ८२.९३ प्रतिशत खर्च भएको उपप्रमुख विश्वकर्माले जानकारी दिनुभयो ।
चालू र पूजिगत खर्चलाई छुट्टाछुट्टै हेर्दा चालू तर्फ विनियोजन भएको रकम मध्ये ८७.१९ प्रतिशत र पूजीगत तर्फ विनियोजित मध्ये ७४.३८ प्रतिशत खर्च भएको उहाँले बताउनुभयो । त्यस्तै नगरसभामा नगरप्रमुख भिम प्रसाद ढुंगानाले आर्थिक बर्ष २०८१/०८२ को नीति तथा कार्यक्रमको कार्यान्वयन अवस्था प्रस्तुत गरिएको थियो ।
एकिकृत नगर विकास योजना, आवधिक योजना र विगत ८ बर्षको नीति तथा कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन गर्न योजनाबद्ध रुपमा काम गरिरहेको नगरप्रमुख ढुंगानाले बताउनुभयो । स्थानीय सरकारको माध्यमबाट नगरको समग्र विकास गर्ने ऐतिहासिक जिम्मेवारीलाई इमान्दारिताका साथ निर्वाह गदै देशकै नमूना नगरपालिकाको रुपमा नीलकण्ठ नगरपालिकालाई स्थापित गरेको बताउनुभयो ।
व्यवस्थित सडक सञ्जाललाई विकासको मुख्य आधारशिला मान्दै नगरपालिकाको प्रत्येक वडा कार्यालयसम्म बाह्रै महिना चल्ने गरी सडक कालोपत्रे गरिसक्ने ढुंगानाले बताउनुभयो । साथै नगर यातायात गुरुयोजनाले निर्दिष्ट गरेको सडक मापदण्ड र भवन निर्माण सँगै बस्ती विकासमा जोड दिने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस