धादिङ ९ मंसिर
धादिङ जिल्ला स्तरीय महिला-पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।
जिल्ला भलिबल संघ धादिङले धादिङ जिल्ला भलिबल टिमका पूर्व कप्तान स्व.मनोज श्रेष्ठको स्मृतिमा आयोजना गरेको महिला-पुरुष भलिबल प्रतियोगिता आईतबार नीलकण्ठ नगरपालिकाको नगर प्रमुख भिम प्रसाद ढुङ्गानाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
सदरमुकाम धादिङबेशीस्थित कभर्डहल सँगैको खेलमैदानमा आईतबार भएको पुरुषतर्फको फाईनल खेलमा रुवीभ्याली गाउँपालिकालाई ३–० को सोझो सेटमा हराउदै खनियाबास गाउँपालिकाको सिङ्गङ एकता समाज प्रथम भएको हो । २५–२०, २५–२१ र २५–२० को सेटमा सिङ्गङ एकता समाजले खेल जितेको हो ।
क्वाटरफाइनल खेलमा खनियाबास गाउँपालिकाको टिमलाई नै पराजित गर्दै सिङ्गङ एकता सेमिफाइनल गएको थियो । सेमिफाइनल खेलमा सिङ्गङ एकताले गंगाजमुना गाउँपालिकालाई र रुविभ्याली गाउँपालिकाले सिद्धलेक गाउँपालिकाको टिमलाई हराएर फाइनलमा पुगेका थिए ।
प्रथम भएकोे सिङ्गङ एकता समाजले नगद १ लाख १ हजार १११ सहित ट्रफि,मेडल र प्रमाणपत्र, दोस्रो भएको रुवीभ्याली गाउँपालिकाले नगद ५५ हजार ५५५ र सेमिफाइनल पुगेका रुवीभ्याली गाउँपालिका र सिद्धलेक गाउँपालिकाले २०-२० हजारसहित ट्रफि,मेडल र प्रमाणपत्र पाएका छन् ।
त्यस्तै विधागत पुरुष खेलाडीहरु तर्फ सर्वोउत्कृष्ट खेलाडीः योहाङ तामाङ, सिङ्गङ एकता समाज ,उत्कृष्ट स्पाईकरः प्रकाश तामाङ, रुवी भ्याली गाउँपालिका,उत्कृष्ट मिडिल ब्लगरः सुज तामाङ सिङ्गङ एकता समाज ,उत्कृष्ट सेटरः उपेन्द्र तामाङ रुवी भ्याली गाउँपालिका, उत्कृष्ट डिफेन्डरः कोबहादुर तामाङ रुवी भ्याली गाउँपालिका ,उत्कष्ट सर्भरः दिलिप तामाङ सिङ्गङ एकता समाज , उत्कृष्ट कोचः जसबहादुर तामाङ सिङ्गङ एकता समाज रहेका छन् ।
यसैगरी महिला तर्फको खेलमा नीलकण्ठ नगरपालिका प्रथम भएको छ । शनिबार भएको फाईनल खेलमा सिद्धलेक गाउँपालिकालाई पराजित गर्दै नीलकण्ठ नगरपालिका प्रथम भएको हो । सेमिफाइनलमा नीलकण्ठले ज्वालामुखी गाउँपालिकालाई र सिद्धलेक गाउँपालिकाले बेनिघाट रोराङ गाउँपालिकाको टिमलाई हराएर फाइनलमा पुगेका थिए ।
महिला तर्फ प्रथम भएकोे नीलकण्ठले नगद ५५ हजार ५५५ सहित ट्रफि,मेडल र प्रमाणपत्र, दोस्रो भएको सिद्धलेकले नगद ३० हजार ३३० र सेमिफाइनलमा पुगेका ज्वालामुखी बेनिघाट रोराङले १५-१५ हजार सहित ट्रफि,मेडल र प्रमाणपत्र पाएका छन् ।
त्यस्तै विधागत महिला खेलाडीहरु तर्फ उत्कृष्ट सेटरः जमुना गुरुङ नीलकण्ठ नगरपालिका, उत्कृष्ट स्पाईकरः रेविका तामाङ सिद्धलेक गाउँपालिका उत्कृष्ट लिब्रोः रोजिना बराम नीलकण्ठ नगरपालिका सर्वोउत्कृष्ट खेलाडीः वाल्मीकी आचार्य नीलकण्ठ नगरपालिका, उत्कष्ट सर्भरः प्रतिक्षा थापामगर सिद्धलेक गाउँपालिका उत्कृष्ट कोचः चेतलाल तामाङ नीलकण्ठ नगरपालिका
मंसिर ८ गतेदेखी सुरु भएको प्रतियोगितामा पुरुष तर्फ ११ टिम र महिलातर्फ ८ टिम सहभागी थिए । गंगाजमुना गाउँपालिका–४,गुम्दी घर भएका धादिङ भलिबल टिमका कप्तान श्रेष्ठको ०८० कात्तिक ९ गते निधन भएको थियो ।
टिपटप हेल्प नेपालबाट प्रधानमन्त्री कप एनभीए समेत खेलेका श्रेष्ठको कप्तानीमा धादिङले बागमती प्रदेश स्तरिय प्रतियोगिता समेत जितेको थियो । उनैको सम्झनामा स्मृति कप आयोजना गरिएको जिल्ला भलिबल संघ धादिङका अध्यक्ष अमृत गुरुङ (तिलक) ले बताउनुभयो । यस प्रतियोगिताबाट महिला÷पुरुष दुबै तर्फ खेलाडी छनौट गरी जिल्ला स्तरिय टिम निर्माण गरिने उहाँको भनाई छ । धादिङको १३ वटै स्थानीय तहका जनप्रतिनिधीहरुले खेल क्षेत्रलाई प्रवर्दन गर्नका लागि आवश्यक बजेट विनियोजन गरि अगाडी बढ्नुपर्न उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस