धादिङ २७ कार्तिक
राउटेको जनसङ्ख्या घटेर १३५ जनामा पुगेको छ ।
राउटे समुदायमा साढे दुइ बर्षको अवधिमा जम्मा २ जनाको मात्र जन्म भएको छ । उक्त समुदायमा बच्चाको जन्म दर कम हुदा संकटमा पर्दै जान थालेको सरोकार वाला निकायहरुले जनाएको छ ।
अहिले बालबालिका जन्मिने क्रम निकै कम भएको सोसेक नेपालका कार्यकारी प्रमुख हीरासिंह थापा बताउनुभयो । पछिल्लो साढे दुई वर्षको अवधिमा राउटे समुदायमा २ जना मात्र बालबालिका जन्मनु यसैको उदाहरण भएको पनि उहाँले बताउनुभयो ।
जनसङ्ख्यामा कमी आएसँगै कर्णालीका विभिन्न जिल्लामा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायको अस्तित्व नै सङ्कटमा पर्न थालेको छ ।
राउटे समुदायको उत्थानका लागि काम गर्दै आएको गैरसरकारी संस्था सोसेक नेपालका अनुसार सामाजिक मूल्य मान्यताका कारण पनि राउटेको सङ्ख्या घटिरहेको हो । राउटेभित्र ३ वटा समुदाय छन् । एउटै समुदायका केटा र केटीको विवाह गर्नु हुन्न भन्ने उनीहरुको मान्यता रही आएको छ । यसैले धेरै युवायुवतीको विवाह नै हुन सकेको छैन ।
यस्तै श्रीमानको मृत्युपछि जतिसुकै उमेरको भए पनि महिलाले विवाह गर्न पाउँदैनन् । अहिले उक्त समुदायमा २३ जना एकल महिला रहेको पनि सोरेक नेपालले जानकारी दिएको छ । तीमध्ये धेरैजसो २० देखि ३० वर्ष उमेरका रहेका छन् ।
२०७५ सालमा १४९ जना रहेको राउटेको जनसङ्ख्या घटेर अहिले १३५ जनामा झरेको छ । पहिले यो संख्या झन्डै ७०० को हाराहारीमा रहेको थियो ।
पछिल्लो समय यो समुदायमका मानिसहरुले जाँड–रक्सी खाएपछि लडेर ज्यान गुमाउने क्रम पनि बढेको छ ।
अनलाईन साभार
प्रतिक्रिया दिनुहोस