उत्तरी धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थितमा गंगाजमुना माई मेला २०८१ कार्तिक २६ र २७ गते हुने भएको छ ।
गंगाजमुना गाउँपालिकाको आयोजनामा आगामी कार्तिक २६ र २७ गते हुने कार्यक्रममा संघीय पर्यटनमन्त्री बद्री प्रसाद पाण्डे र नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक(सिईओ) दीपक राज जोशीको आतिथ्यता रहने गंगाजमुना गाउँपालिकाका प्रवक्ता एवंम गंगाजमुना गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष कुमार बहादुर अधिकारीले रेडियो बिहानीलाई बताउनुभयो ।
यस कार्यक्रमका मुख्य आर्कषणमा हरेक वडाबाट १÷१ स्थानीय सांस्कृतिक नृत्य, झाँक्री लामा नाच, मेहन्दोमाया तामाङसेलो नाच, लाखे नाच, चउरी घोडा नाच, सोरठी नाच, टाकटुके नाच, भजनमण्डली पञ्चेबाजाको साथमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने छ । देशकै महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल गंगाजमुना झरनाको नामबाट यस गाउँपालिकाको नामाकरण समेत गरिएको हो ।
३०० मिटर माथिबाट झर्ने यो झरनामा नुहाएर मनले चिताएको पुरा होस भनेर आर्शीवाद माग्ने चलन रहेको छ । झरना झरेको पहराको बिचमा गंगा र जमुनाको पुजा गरिन्छ । उक्त मन्दिरलाई पुननिर्माण गदैं गणेश र शिवजी भगवानको मूर्ति पनि स्थापना गरिएको छ । धार्मिक तथा पर्यटकीय गन्तव्य स्थलको रुपमा चिनिने गंगाजमुना झरना वडा नम्बर ५ ढाडखर्कमा अवस्थित रहेको छ ।
आफ्नो मौलिक परम्परा चालचलन संस्कार संस्कृतिलाई जगेर्ना गदैं नयाँ पुस्तालाई पुस्तान्तरण गर्ने उद्देश्यले उक्त मेला लाग्ने गर्दछ । हरेक वर्ष कार्तिक शुक्ल दशमीको दिन भक्तजनहरु रातभर नाँचगान गरी जाग्रम बसी भोलीपल्ट बिहान हरिबोधनी एकादशीको दिन बिहानै स्नान गरी पुजाआजा गर्ने चलन रहेको छ । एकादशीको दिन भएकाले भक्तजनहरु व्रत बसी फलाहार मात्र ग्रहण गर्ने गर्दछन् ।
गंगाजमुना झरना सँगै रहेको कुकुर धारामा नुहाउनेको पनि भिड लाग्ने गर्दछन् । त्यस झरनामा स्नान गर्दा एलर्जी, दाग, दुवी लगायतका छाला सम्बन्धी रोग निको हुने धार्मिक विश्वास रहेको पाईन्छ । कुकुर वा अन्य कुनै जनावरले टोकेमा त्यसको दोष निवारणको लागि कुकुर धारामा नुहाउने पनि चलन रहेको छ । लङ्गुरबुर्जा खेल यहाँको रात्रिकालीन जात्राको विशेषता हो।
मेला अवलोकन गर्न धादिङका विभिन्न स्थानका साथै छिमेकी जिल्ला रसुवा, नुवाकोट, गोखा, काठमाण्डौं लगायत ठाउँबाट भक्तजनहरु आउने गर्दछन् । धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण र आकर्षक त्यस ठाउँमा पुग्न सडक सुविधा पनि भएकाले सहजै दर्शन गर्न जान सक्नेछन ।
भौगोलिक हिसाबले बिकट भएता पनि गंगाजमुना झरना आन्तरिक तथा बाह्य पर्यटकको लागि आकर्षक गन्तव्य मानिन्छ ।
प्रतिक्रिया दिनुहोस