धादिङ १७ मङ्सिर
धादिङका सम्पूर्ण सरकारी तथा संघ संस्थाका कार्यालयहरुको भवन अपाङ्गता मैत्री हुनपर्ने नीलकण्ठ नगरपालिका धादिङका उपप्रमुख मनराज भण्डारीले बताउनु भएको छ । दिगो विकासको लक्ष्य अपाङ्गता मैत्री भविष्य भन्ने मुल नाराका साथ २८ औँ अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा नीलकण्ठ नगरपालिका धादिङले धादिङको नीलकण्ठ नगरपालिका वडा नं ३ शान्तिटारमा मङगलबार आयोजना गरेको अपाङ्गता भएका व्यक्ति तथा सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रममा भण्डारीले सो कुरा बताउनु भएको हो । उहाँले अपाङगता भएका व्यक्तिहरुलाई राज्यले दिएको सेवा सुविधालाई वृद्धि गरी सही तरिकाले सदुपयोग गर्नु पर्ने बताउनु भयो । यस्तै भण्डारीले नीलकण्ठ नगरपालिका धादिङले अपाङगता, दलित तथा लक्षित वर्गहरुको लागि वडा वडामा बजेट पठाएकोले उक्त बजेट सही तरिकाले सदुपयोग भए÷नभएको विषयमा अनुगमन गर्न पनि आवश्यक रहेको बताउनु भयो । उप प्रमुख भण्डारीले यसै आर्थिक वर्षमा अपाङ्गा भएका व्यक्तिहरुलाई अपाङ्गता परिचय पत्र र मतादाता परिचय पत्र घर घरमा गएर वितरण गर्ने समेत बताउनु भयो ।
यस्तै देशभर भैरहेको महिला हिंसा र बलात्कार जस्ता घटनाहरुले गर्दा अपाङ्गता भएका महिलाहरु आफू सुरक्षित छु भन्ने अवस्था समेत नरहेको कार्यक्रमका सहभागिहरुले बताएका छन् । नीलकण्ठ नगरपालिका धादिङका उप प्रमुख मनराज भण्डारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बहिरा संघ धादिङका अध्यक्ष राम प्रसाद अधिकारी, नेत्रहिन संघका कोषाध्यक्ष ज्ञानेन्द्र लम्साल, नमुना बौद्धिक अपाङगता आधारभुत बिशेष विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष सरण कुमार श्रेष्ठ लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । नमूना बौद्धिक अपाङगता आधारभूत विशेष विद्यालयको भवन निर्माणको लागि नीलकण्ठ नगरपालिका धादिङले रु १५ लाख र तत्कालिन जिल्ला विकास समिति धादिङको रु ९ लाख गरी कुल २४ लाखको बजेटमा ६ कोठे पक्की भवनको निर्माण कार्य भैरहेको छ । भवन निर्माणको लागि नीलकण्ठ नगरपालिका वडा नं ३ का नन्द्रप्रसाद रिजालले निशुल्क ४ आना जग्गा प्रदान गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस