धादिङ ०१ कार्तिक
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १४ स्थितमा कुपा युवा समाजद्धारा आयोजना गरिएको चौँथो कुपा कप २०८१ सम्पन्न भएको छ ।
बिहीबार एक भव्य कार्यक्रमको आयोजना गरि कुपा युवा समाजको अध्यक्ष हर्क बहादुर गुरुङको सभाध्यक्षता नीलकण्ठ नगरपालिकाका नगर उपप्रमुख दिपक विश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । नीलकण्ठ नगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष नवराज दुवाडी, एन्फा धादिङका उपाध्यक्ष सुरेश तामाङ, लगायतको विशिष्ट आतिथ्यता रहेको थियो ।
विहीबार सम्पन्न फाईनल प्रतियोगितामा म्हेन्दोफोले युवा क्लव प्रथम भएको छ । ४० टिम दर्ता भई गत असोज २३ गतेदेखि सञ्चालन भएको उक्त प्रतियोगितामा थर्पु युवा क्लव नेत्रावती डब्जोङ गाउँपालिका वडा नम्बर ४ र म्हेन्दोफोले युवा क्लव नीलकण्ठ नगरपालिका वडा नम्बर १ काउले बिच भएको फाईनल प्रतियोगितामा पेनाल्टी सुटआउटमा म्हेन्दोफोले युवा क्लव प्रथम भएको हो ।
प्रथम स्थान हासिल गर्ने म्हेन्दोफोले युवा क्लवका खेलाडीहरुलाई नगद पुरस्कार रु ६६ हजार ६ सय ६६ रुपैया र साथमा ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै उप विजेता थर्पु युवा क्लवका खेलाडीहरुलाई नगद पुरस्कार रु ३३ हजार ३ सय ३३ रुपैया र साथमा ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै उत्कृष्ट गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी लगायतलाई ट्रफि र मेडलले सम्मान गरिएको थियो ।
उक्त प्रतियोगितामा विजेता युवा क्लवलाई बधाई तथा शुभकामना दिनुहुँदै कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका नीलकण्ठ नगरपालिकाका नगर उपप्रमुख दिपक विश्वकर्माले नीलकण्ठ नगरपालिकाका शिर उच्च हुनेगरि प्रतियोगितामा जित हासिल गरेकोमा म्हेन्दोफोले युवा क्लवलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । स्थापना काल देखि नै कुपा युवा समाजले रचनात्मक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ, यसले सिङगो जिल्ल्लालाई र हरेक टोल टोलका समूदायलाई एकताको सन्देश फैलाउने काम गरिरहेको छ त्यसैले कुपा युवा समाजलाई प्रशंसा गर्न योग्य ठान्दछु –उपप्रमुख विश्वकर्माले भन्नुभयो ।
नगरपालिकाले युवाहरुको माग र चाहनालाई सम्बोधन गर्न निशुल्क तथा अनिवार्य शिक्षा संगै खेलकुद बिकास, स्वास्थ्य तथा अन्य युवा लक्षित कार्यक्रमहरु प्राथमिकताकासाथ नीती तथा कार्यक्रम र बजेटमा राखिएको बताउनुभयो । युवालाई सिप तथा रोजगार,मनोपरामर्श, उद्यमशीलता, खेलकुद क्षेत्रमा सहभागीता र बिकास लगायतमा नगरपालिकाले सहयोग सहकार्य गर्ने नगर उपप्रमुख विश्वकर्माले बताउनुभयो ।
त्यस्तै वडा अध्यक्ष नवराज दुवाडीले खेलकुद क्षेत्रमा नगरपालिकाकै अब्बल दर्जामा स्थापित भईरहेको वडा नम्बर १४ लाई सबै पक्षको साथ र सहयोग रहनुपर्ने स्पस्ट पार्नुभयो । विजेता र उप विजेता खेलाडीलाई बधाई तथा शुभकामना दिनुहुँदै वडा अध्यक्ष दुवाडीले नेपालीहरुको महान चाड बडा दशैँ तथा शुभदिपावलीको अवसरमा वर्षेनी आयोजना गरिने कुपा कप जिल्ला स्तरमै चर्चाको विषय बनेकोमा खुशी व्यक्त गर्दै कुपा युवा समाज परिवालाई धन्यवाद व्यक्त गर्नुभयो । आगामी दिनहरुमा वडाको तर्फबाट भरपुर साथ र सहयोग रहने स्पष्ट पार्नुभयो ।
उक्त कार्यक्रममा जनप्रतिनिधी, विभिन्न राजनैतिक दल,समाजसेवी,पत्रकार, खेलाडी खेलप्रेमीहरुको भव्य सहभागीता रहेको थियो । २०७५ सालमा स्थापना भएको कुपा युवा समाजले २०७८ सालदेखि फुटवल प्रतियोगिताको आयोजना गरिदै आएको छ ।
प्रतिक्रिया दिनुहोस