धादिङ १० असोज
नेपालीहरुको महान पर्व बडा दशैं नजिकिए सगैं उत्तरी धादिङको गंगाजमुना गाउँपालिका वडा नं–५ मा बजार अनुगमन गरी म्याद गुज्रिएको खाद्य सामाग्रीहरु नष्ट गरिएको छ ।
गाउँपालिका उपाध्यक्ष, गाउँप्रहरी, वडा कर्मचारी र वडा सदस्यहरुको सहभागितामा गंगाजमुना गाउँपालिका कै सबै भन्दा ठुलो क्षेत्रफल भएको वडा नं–५मा रहेको तीनखण्डी बजारको १० वटा पसल अनुगमन गरी म्याद सकिएको सामाग्रीहरु नष्ट गरिएको हो ।
जनताको स्वास्थ्यलाई मध्य नजर गदै उक्त कार्य गरिएको वडा नं– ५ का वडा अध्यक्ष एवम् गाउँपालिका प्रवक्ता कुमार बहादुर अधिकारीले रेडियो बिहानीलाई बताउनु भयो । उहाँले बजार क्षेत्रमा रहेको पसलहरु चाडपर्वलाई मात्र लक्षित नगरी अन्य समयमा पनि नियमित अनुगमन गर्ने भएको हुदा म्याद गुज्रिएको खाद्य सामग्री र प्लष्टिक जन्य मदिरा बिक्रि गर्न व्यापारी सचेत रहनुपर्ने बताउनुभयो ।
नवीकरण नभएको पसललाई नवीकरण गर्न र दर्ता नभएकोलाई दर्ता गर्न सल्लाह दिइएको र यसबाट वडामा अडिट गर्न पनि सजिलो हुने र राजस्वमा पनि सहयोग पुग्ने वडा नं– ५ का वडा अध्यक्ष एवम् गाउँपालिका प्रवक्ता अधिकारीको भनाई छ ।
अघिल्लो पटकको अनुगमनमा धेरै म्याद सकिएको सामान नष्ट गरिएकोमा यो पटक भने कम पाइएको र पसलहरुमा सरसफाईको कमी देखिएकाले सरसफाई गर्न पनि सुझाव दिइएको उहाँले बताउनुभयो ।
गाउँपालिकाले गर्नुपर्ने नियमित अनुगमन कार्यविधी बनाएर वडा नं–५ को पहलमा गाउँपालिका र वडा नजिकै रहेको बजार क्षेत्रमा गरिएको अनुगमनले जनताहरु खुशी भएको र उक्त कार्यलाई निरन्तरता दिनु पर्ने स्थानीयको माग छ ।
प्रतिक्रिया दिनुहोस