धादिङ ४ असोज
जिल्ला अनुगमन समिति धादिङले बजार अनुगमलाई तिव्रता दिएको छ ।
धादिङका होटल तथा खाद्यान्न पसलमा अनुगमन गर्दै ३ होटल तथा पसललाई जरिवाना गरेको छ ।
उपभोक्ताको गुनासोका आधारमा चाडपर्वको समयमा बजारमा धेरै सामान खरिद गर्ने, तथा उपभोक्ता ठगिने जोखिमलाई ध्यानमा राखेर अनुगमन गरिएको हो ।
जिल्लाका विभिन्न स्थानमा अखाद्य वस्तुको बिक्री वितरण तथा तोकिएको मूल्यभन्दा बढी रकम लिएको र सरसफाइमा ध्यान नदिएको भन्ने गुनासो आएपछि बजार अनुगमनलाई तीव्रता दिइएको जिल्ला अनुगमन समिति संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले बताउनुभयो ।
अनुगमनका क्रममा पृथ्वी राजमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिकामा सञ्चालित होटल, पसल, कोल्ड स्टोर्स तथा सप्लायर्सहरूलाई जरिवाना समेत गरिएको छ । अनुगमनका क्रममा श्री न्यु नेपाल माइक्रो खाना एण्ड खाजा घरलाई रु.२० हजार र होटेल राजधानी फास्टफुड एण्ड रेस्टुरेन्टलाई रु.५० हजार जरिवाना गरेको छ । अनुगमन समितिले म्याद गुज्रेका र अखाद्य वस्तुहरू जफत गरी नष्ट गरिएको छ ।
यसैगरि अनुगमन समितिले धादिङबेसीको ५ ओटा खाद्यान्न पसलहरुको अनुगमन गरि १ पसललाई जरिवाना गरेको छ । सापकोटा किराना पसललाई ५ हजार जरिवाना गरि म्याद गुज्रेको सामान जफत गरेको छ । म्याद सकिएको सामाग्री बिक्री गरिरहेको, म्याद सकिएका खाद्यान्न सामाग्रि पसलमा राखेर विक्रि गरने, खराब खाद्यान्न सामाग्रिहरु समेत बरामद गरेको छ ।
चाडपर्वको बेलामा उपभोक्तासँग बढी मूल्य लिने, गुणस्तरहीन वस्तु, म्याद नाघेका सामान, लेबल नभएका सामान विक्री गर्नेलगायतका कार्य बढी हुने भएकाले अनुगमन तीव्र पारिएको सहायक प्रजिअ अर्यालले बताउनु भयो ।
चाडपर्वको मौका छोपेर विशेष त पृथ्वी राजमार्गअन्तर्गत धादिङ जिल्लामा सञ्चालित होटलहरूले खाना, खाजाको मूल्य बढी लिने गरेको गुनासो यात्रुहरूले गर्दै आइरहेकाो जिल्ला अनुगमन समितिका सदस्य सचिव मेघनाथ न्यौपानेले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस