धादिङ ३१ भाद्र
स्वास्थ्य सेवा प्रवाहमा ७९ अंक सहित नीलकण्ठ नगरपालिका जिल्लाकै प्रथम भएको छ ।
आईतबार जनस्वास्थ्य कार्यालय धादिङको आयोजनामा सम्पन्न भएको दुई दिने वार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठिमा जिल्लाका १३ वटा स्थानिय तहमध्ये स्वास्थ्य सुचकको आधारमा नीलकण्ठ नगरपालिका प्रथम, बेनीघाट रोराङ गाउँपालिका दोस्रो र गजुरी गाउँपालिका तेस्रो भएको हो ।
नीलकण्ठ नगरपालिकाले ७९ अङ्क ल्याएर प्रथम भएको छ भने बेनीघाट रोराङ गाउँपालिकाले ७८ र गजुरी गाउँपालिकाले ७५ अङ्क ल्याउन सफल भएको छ ।
कार्यक्रममा पहिलो दास्रो र तेस्रो हुने पालिकाका स्वास्थ्य शाखा प्रमुखहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा आर्थिक वर्ष २०८०÷८१ मा भएका स्वास्थ्य कार्यक्रमहरुको समिक्षा तथा प्रस्तुतिकरण गरिएको थियो भने कार्ययोजनाको निमार्ण समेत गरिएको थियो ।
जनस्वास्थ्य कार्यलय धादिङका निमित्त प्रमुख श्याम प्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न भएको वार्षिक समिक्षा कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख कुलमान विक को प्रमुख आतिथ्य तथा प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेको विषेश आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रदेश स्वास्थ्य निर्देशनालयका तथ्याङक अधिकृत राजन चालिसे, धादिङ अस्पतालका डा. गगन अधिकारी, जिल्लाका १३ वटै पालिकाका स्वास्थ्य शाखा प्रमुखहरु, जनस्वास्थ्य कार्यलय धादिङका कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस