धादिङ ११ मङ्सिर
जिल्ला प्रहरी कार्यालय धादिङले बालुवाभित्र लुकाएर काठमाडौँ लान लागेको तयारी सालको काठ बरामद गरेको छ । मङ्गलबार राती १०ः३० तिर धादिङबेसी साघुँटारमा सल्यानटारबाट काठमाडौँ जादैँ गरेको बा ५ ख १८४९ नम्बरको ट्रिपरलाई गस्तीमा खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा सो काठ बरामद गरिएको हो । ट्रिपरमा बालुवाभित्र लुकाएर सालको काठले बनेको तयारी ढोकाको चौकोस ७ थान, ठुलो झ्यालको चौकोस ५ थान र सानो झ्यालको चौकोस २ थान गरी अन्दाजी ३६ क्यु फिट अबैध काठ बरामद गरिएको प्रहरी प्रवक्ता रुपक खड्काले बताउनु भयो । अबैध काठसँगै ट्रिपर चालक नीलकण्ठ नगरपालिका वडा नं. ८ बस्ने वर्ष ३५ का नारायण वि.क. र काठ धनी नीलकण्ठ नगरपालिका वडा नं. १० बस्ने वर्ष ४३ का हिरालाल तिमल्सिनाका साथै ट्रिपर समेत प्रहरीले नियन्त्रणमा लिएर डिभिजन वन कार्यालय धादिङमा थप अनुसन्धानको लागि पठाएको छ । यता डिभिजनल वन अधिकृत जीवनाथ पौडेलले अनुसन्धान अधिकारी तोकेर जिल्ला अदालत धादिङबाट ५ दिनको म्याद थप गरी अनुसन्धान कार्य अगाडि बढाएको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस