धादिङ २८ भाद्र
धादिङको सिद्धलेक गाउँपालिका वडा नं २ नलाङस्थित खिर्रेभञ्याङमा स्व.लोक बहादुर गुरुङ स्मृती कप भलिवल प्रतियोगीता हुने भएको छ ।
तमु युवा समाज सिद्धलेक–२ धादिङको आयोजना तथा सिद्धलेक गाउँपालिकाको प्रायोजनमा आउँदो असोज २७ देखि २९ गतेसम्म स्व.लोक बहादुर गुरुङ स्मृती कप (खुल्ला पालिका स्तरिय पुरुष भलिबल प्रतियोगिता) हुने धादिङ जिल्ला भलिबल संघका अध्यक्ष अमृत गुरुङ (तिलक) ले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम हुनेले १ लाख ११ हजार १११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै द्धित्तिय पुरस्कार ५५ हजार ५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र र तृतीय पुरस्कार ३३ हजार ३३३ सहित ट्रफी, मेडल र प्रमाणपत्र दिइने गुरुङले बताउनुभयो ।
विधागततर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर, उत्कृष्ट सर्भर, उत्कृष्ट लिब्रो र उत्कृष्ट कोचले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा सहभागी हुने टिममा खेलाडी संख्या १२ जना (९ जना एउटै पालिकाको हुनुपर्ने), टिम कोच १ जना र टिम म्यानेजर १ जना हुनुपर्ने आयोजकले जनाएको छ ।
सहभागीताको लागि असोज २४ गते सम्म टिम दर्ता गर्न सकिने र दर्ता शुल्क ५ हजार तोकिएको आयोजकले जनाएको छ । प्रतियोगितामा सहयोगी संस्थाहरु धादिङ जिल्ला भलिबल संघ र लायन्स क्लब अफ काठमाडौँ सिद्धेश्वर ३२५ रहेको छ ।
तमु युवा समाजले हरेक बर्ष दशैको अवसरमा भलिवल प्रतियोगिता आयोजना गर्दै आएको छ । यस बर्ष भने स्व लोक बहादुर गुरुङ स्मृती कप आयोजन गर्न लागेको हो ।
तमु युवा समाजका सल्लाहकार, तमु ह्युल छोज धी गुरुङ राष्ट्रिय परिषद सिद्धलेकका अध्यक्ष एवम नलाङ पात्ले माविका पूर्व व्यवस्थापन समिति अध्यक्ष तथा नलाङको साविक वडा नं ४ का वडा अध्यक्ष समेत रहेका लोक बहादुर गुरुङको गत असार ६ गते खिर्रेमा सवारी दुर्घटनामा परी निधन भएको थियो ।
उहाँकै स्मृतीमा आयोजित प्रतियोगिता सभ्य र भव्य रूपमा सफल पार्नको लागि आर्थिक सहयोग गरिदिन आयोजकले अपिल समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस