धादिङ १९ भाद्र
धादिङबेशीमा मानव बेचविखन विरुद्धको १८ औं अन्तराष्ट्रिय दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रशासन कार्यालय धादिङ र नीलकण्ठ नगरपालिकाको सहकार्यमा अन्तरक्रिया गरिएको हो । अन्तरक्रिया कार्यक्रममा महिला मानव अधिकार रक्षक जिल्ला संजाल धादिङका अध्यक्ष गायत्री खतिवडाले मानव बेचविखन विरुद्धको कानुनलाई परिमार्जन गर्नुपर्ने सुझाव दिनुभएको छ ।
श्रम तथा मानव तस्करीमा बेचिएकाहरु र सामाजिक संजाल अथवा साईबर अपराधमा परेकाहरुले उजुरी कहाँ गर्ने भन्ने कुरामा अन्यौलता रहेको बताउनुभयो । पछिल्लो समयमा आधारभुत र माध्यामिक तहमा पढ्ने विद्यार्थीहरु हराईरहेको हुनाले विद्यालयस्तरमा यस्ता सचेतनाका कार्यक्रमहरु लैजानुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै पिडित केन्द्रित न्याय प्रालीको विकास हुन नसकेको, वैदेशीक रोजगारको क्रममा श्रम शोषण भईरहेकोले यस तर्फ प्रहरी र स्थानीय सरकारले चासो दिनुपर्ने कार्यक्रममा सहभागिहरुले बताएका छन् ।
कार्यक्रममा सहभागिहरुले राखेका प्रश्न तथा जिज्ञासाहरुको बारेमा प्रहरी कार्यालयका प्रमुख, प्रमुख जिल्ला अधिकारी लगायतले जवाफ दिनुभएको थियो । कार्यक्रममा संचारकर्मी,विभिन्न राजनितिक दलका प्रतिनिधी, संघ संस्था तथा नागरिक समाज लगायतको सहभागिता रहेको थियो ।
साथै जिल्ला प्रहरी कार्यालयमा गत आर्थिक वर्ष र यस आर्थिक वर्ष सुरु भएयता भएका कार्यक्रम तथा गतिविधीहरुको बारेमा जानकारी गराईएको थियो ।
प्रतिक्रिया दिनुहोस