धादिङ १३ भाद्र
धादिङको नीलकण्ठ बहुमुखी क्याम्पसको मानविकी संकायको तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुले विषयगत प्रयोगात्मक कार्य सम्पन्न गरेका छन् ।
मानविकी संकाय अन्तर्गत बि.ए.एस.डब्ल्यु तेस्रो वर्षका विद्यार्थीले आफ्नो प्रयोगात्मक अंकभार परिपुर्ति गर्नका लागि क्याम्पसका उपप्राध्यापक राजकुमार राईको निर्देशनमा तयार पारिएको कार्यक्रम अनुरुप जिल्ला निर्वाचन अधिकारी विकास वि.क संग निर्वाचनका विविध विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।
क्याम्पसमा अध्ययनरत १३ जना छात्राहरु र निर्वाचन आयोग धादिङका जिल्ला निर्वाचन अधिकारी वि.क बिच निर्वाचन भनेको के हो, निर्वाचनका प्रकार, थ्रेसहोल्ड मत, जमानी जफत र डिजिटल भोटिङ सिस्टम लगायतको विषयमा केन्द्रित रहेर छलफल भएको थियो । प्रमुख वि.कले सम्पुर्ण विद्यार्थीको जिज्ञासा मेटिने गरि विषयलाई वास्तविक जिवनसंग जोड्ने गरि सहज ढंगबाट विस्तृत रुपमा प्रस्तुतिकरण दिनुभएको थियो । उहाँले नेपालको वर्तमान निर्वाचन प्रणाली र राजनैतिक अवस्थाबारे पनि जानकारी गराउनुभएको थियो ।
उक्त विषयहरुलाई पाठ्यक्रममा आधारित भएर कक्षा कोठामा पढाउदा भन्दा सोही विषयमा विज्ञ रहेका व्यक्तिसंग अन्तरक्रिया गराउदा विद्याथीलाई त्यस विषयको बारेमा राम्रोसंग बुझ्ने र प्रभावकारी सिकाई हुने भएकाले जिल्ला निर्वाचन अधिकारीसंग विशेष समयको माग सहित समन्वय गरि अन्तरत्रियामा सहभागी गराईएको क्याम्पसका उपप्राध्यापक राजकुमार राईले बताउनुभयो ।
साथै जिल्ला निर्वाचन अधिकारी वि.क ले सम्पुर्ण निर्वाचनका प्रक्रिया, फाईदा बेफाईदा र निर्वाचनको महत्वबारे सहज र सरल ढंगबाट बुझाईदिनुभएकोले अब आफुहरुलाई त्यस विषयसंग कुनै पनि समस्या नभएको र प्रयोगात्मक कार्य संगसंगै व्यक्तिगत ज्ञान समेत प्राप्त गर्न सजिलो भएको भन्दै विद्यार्थीहरुले खुसी व्यक्त गर्नुका साथै धन्यवाद ज्ञापन गरेका थिए ।
मानविकी संकाय तर्फ अध्ययन हुने बि.ए.एस.डब्ल्यु विषय एक नयाँ विषय हो । यो विषय नीलकण्ठ बहुमुखी क्याम्पसमा विगत तिन वर्ष देखि अध्ययन अध्यापन हुदै आईरहेको छ । यस विषयले विद्यार्थीहरुलाई समाजमा घुलमिल हुन र समाज संग परिचित गराउन मद्दत गर्दछ । यस विषयमा लेखनमा ७० प्रतिशत र प्रयोगात्मक कार्य मार्फत ३० प्रतिशत गरि १०० प्रतिशत अंक प्राप्त गर्ने गर्दछन् ।
त्यसै प्रयोगात्मक अंकभार पुरा गर्नका लागि विद्यार्थीहरुले विषय शिक्षकहरुको निर्देशन तथा नेतृत्वमा विभिन्न सामाजिक कार्य तथा अन्तरक्रिया कार्यक्रमहरु गर्दै आईरहेका छन् ।
प्रतिक्रिया दिनुहोस