धादिङ १२
अखिल नेपाल महिला संघ क्रान्तिकारी धादिङको जिल्ला समन्वय समितिको बैठक सम्पन्न भएको छ ।
बुधबार नेकपा माओवादी अखिल नेपाल महिला संघ क्रान्तिकारीका धादिङ जिल्ला संघका अध्यक्ष लक्ष्मी थापा मगरको अध्यक्षता र नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवंम धादिङ जिल्ला इन्चार्ज पुष्प विक्रम मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
त्यसैगरी नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य राम बहादुर भण्डारी, अप्सरा सिंखडा तथा नेकपा माओवादी केन्द्रका जिल्ला सचिव दिपक लामिछाने (सुबोध) नेकपा माओवादी केन्द्र बागमती प्रदेश सदस्य एवंम नीलकण्ठ नगर अध्यक्ष शम्भु श्रेष्ठको आतिथ्यता रहेको थियो ।
उक्त बैठकमा मन्तव्य राख्नुहुदै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवंम धादिङ जिल्ला इन्चार्ज पुष्प विक्रम मल्लले आफुले पाउनुपर्ने हक अधिकारको लागि महिला सधै अघि बढ्नु पर्ने महिला माथि भईरहेको शोषण दमन र अत्याचारलाई चिर्दै अगाडी बढ्नुपर्ने बताउनुभयो ।
५१ प्रतिशत महिला रहेको देशमा महिलाहरुले आफ्नो हक हितको लागि बोल्न नसक्दा पछि परेको र अबको समयमा क्राान्तकारी रुपमा अगाडी बढ्दै देशमा भइरहेको विभिन्न असमान अनियमित्तका विरुद्धमा सशक्त रुपमा आफ्नो आवाज उठाउदै सुशासन र पारदर्शिता ढङ्गले राज्य सञ्चालन गर्न पहल गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै गरी नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य राम बहादुर भण्डारीले संगठनलाई अझ बलियो बनाउन महिलाको पनि महत्वपूर्ण भूमिका हुने भएकाले सामाजिक तथा राजनीतिक क्षेत्रमा महिलाले आफ्नो क्षमता प्रदर्शन गर्न सकिने र महिलाहरुको साथ र सहयोगले नै संगठन बलियो हुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस