धादिङ १० भाद्र
भाद्र कृष्ण अष्टमी अर्थात् कृष्णजन्माष्टमी। सनातन धर्मावलम्बी भगवान् कृष्णको जन्म भएको दिनको सम्झना गर्दै छन् ।
सोमबार ६ घडी ५८ पला अर्थात् बिहान ८ बजेर २७ मिनेटपछि अष्टमी तिथि शुरु हुने पञ्चाङ्गमा उल्लेख छ ।
पुराणहरूका अनुसार द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरात रोहिणी नक्षत्रमा भगवान् विष्णु आठौँ अवतारका रूपमा कृष्ण जन्मिएका हुन् । लोकमा अधर्म बढ्दै जाँदा भगवानले विभिन्न रूप लिने परम्पराअनुरूप कंसलगायत दानवको अन्त्यका लागि नारायणले कृष्णको रूप लिएको बताइन्छ ।
कंसको कालकोठरीमा वासुदेव र देवकीको पुत्रका रूपमा जन्मिएका कृष्णले मथुरामा देखाएको बाललीला र महाभारत युद्धअघि अर्जुनलाई गीताज्ञान प्रख्यात छ । कंस र उनका सहयोगी शकट, भञ्जन, तृणवर्त, वत्सासुर, बकासुर पुतना लगायतको दमन गरी कृष्णले लोकमा शान्ति कायम राखेको पुराणमा उल्लेख छ ।
मानिसले गरेको कर्मअनुसार नै उसलाई फल प्राप्त हुन्छ। गरिसकेको कामबारे आशक्ति राखेर चिन्तित नहुनु भन्ने भगवान् कृष्णले दिएको गीताको सन्देश छ । आजका दिन कृष्णका गुणकीर्तन गर्ने, उनको आराधना गर्ने, जाग्राम बसी रातमा उनको जन्मको प्रतीक्षा गर्ने र भोलिपल्ट उत्सव मनाउने परम्परा छ ।
नेपालमा रहेका श्रीकृष्णमन्दिरमा आजका दिन घुइँचो लाग्ने गर्छ । धादिङको कृष्ण मन्दिर लगायत नेपालमा पाटनको कृष्णमन्दिरमा बिहानैदेखि श्रद्धालुको घुइँचो लागेको छ ।
प्रतिक्रिया दिनुहोस