धादिङ ९ भाद्र
खनियावास गाउँपालिका वडा नं २ झार्लाङमा बचत तथा ऋण व्यवस्थापन तालिम आईतवारबाट शुरु भएको छ ।
खनियावास गाउँपालिका वडा नं २ झार्लाङमा शुरु भएको २ दिने तालिममा २३ जना महिला सहित २६ जनाको सहभागीता रहेको थियो ।
प्रयास नेपाल धादिङले आड्रा नेपालको साझेदारी तथा खनियावास गाउँपालिकाको समन्वयमा संचालनमा भएको उत्थानशील जिविकोपार्जन तथा खाद्य सुरक्षा सुढृढिकरण परियोजना कार्यक्रम अन्तरगत गठित समुहका पदाधिकारीहरुको लागि २ बचत तथा ऋण व्यवस्थापन तालिम संचालन गरिएको हो ।
तालिममा समुहमा बचतको महत्त्व , बचत संकलन , आम्दानी र खर्च अभिलेख , ऋण लगानी ,पासबुक , बचत तथा ऋण परिचालन सम्बन्धि निति , नियम, समुहका पदाधिकारीहरुको काम, कर्तव्य , अधिकार , घुम्ती कोष परिचालन र पुर्व सहकारी शिक्षा लगायतका बिषयमा सहजकर्ता सन्तोष सत्यालले सहजिकरण गर्नु भएको थियो ।
कार्यक्रममा प्रयास नेपाल धादिङ र आड्रा नेपालको संस्थागत चिनारी र परियोजनाको लक्ष्य, उदेश्य संचालन प्रक्रिया र मुख्य क्रियाकलापहरुको बारेमा प्रयास नेपाल धादिङका पशुस्वास्थ्य प्राविधिक रुपेश तामाङले जानकारी गराउनु भएको थियोे ।
कृषकको क्षमता विकास , जलवायु कृषक पाठशाला , प्राविधिक ज्ञान, सिप हस्तान्तरण गरी कृषि तथा पशुपालनमा उत्पादन र उत्पादकत्व बृद्धिमा टेवा पुर्याउने उदेश्यले धादिङ जिल्लाका खनियावास गाउँपालिकामा उत्थानशील जिविकोपार्जन तथा खाद्य सुरक्षा सुढृढिकरण परियोजना संचालन गरिएको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले बताउनु भयो ।
खनियावास गाउँपालिकामा ३२ वटा कृषक समुहहरु मार्फत परियोजनाले कृषि तथा पशुपालन क्षेत्रमा कार्य गरिरहेको झार्लाङबाट प्रमोद तामाङले जानकारी दिनु भयो ।
प्रतिक्रिया दिनुहोस