धादिङ/बैशाख/१२– गोरखाको वारपाक केन्द्रविन्दु बनाएर विनाशकारी भूकम्प गएको आज चार वर्ष वितेको छ । २०७२ साल वैशाख १२ र २९ गतेको विनाशकारी भूकम्पले झण्डै ९ हजारको ज्यान लिएको थियो भने लाखौँ मानिसहरु घरबारविहीन बनेका थिए । जसको असर हजारौँ नीजि आवास, सरकारी कार्यालय, मठ, मन्दिर र पुरातात्विक महत्त्वका संरचनामा समेत परेको थियो । भूकम्पले गोरखा, धादिङ, नुवाकोट, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे सिन्धुपाल्चोक, दोलखा, रामेछाप र ओखलढुङ्गा लगायत १४ जिल्लामा बढी जनधनको क्षति गराएको थियो । भूकम्प गएको ४ वर्ष बितिसक्दा पनि धादिङमा पुनर्निर्माणको गति भने सन्तोषजनक पाइदैन । पुनः निर्माणमा समग्र ८० प्रतिशत उपलब्धि हासिल गरेको दाबी गरिएता पनि पुर्ण लाभग्राही सुचीमा परेका ७५००० हजार घर परिवारमध्ये ७३ हजार ७ सय ६१ ले पहिलो किस्ता रकम पाएका छन् भने अहिलेसम्म ६२ हजार ९ सय १८ ले दोस्रो किस्ता प्राप्त गरेका छन् । पहिलो किस्ता लिएर पनि अझै १२ हजार ८२ लाभग्राहीले दोस्रो किस्ता लिन बाकि रहेको छ । १४ हजार ३ सय ७९ ले तेस्रो किस्ता लिन बाकि रहेको छ । हालसम्म ४८ हजार ५ सय ३९ लाभग्राहीले मात्र तेस्रो किस्ता प्राप्त गरेका छन् । त्यसै गरी प्रवलीकरण तर्फ ४ हजार ७ सय ११ लाभग्राही संख्या रहेका मध्ये ५ सय ६५ जनाको मात्र अनुदान सम्झौता भएको छ । त्ससमध्ये ५सय ६५ जनाले पहिलो किस्ता प्राप्त गरेका छन् भने दोस्रो किस्ताको रकम सम्झौत गर्न कोही पनि नआएको प्राधिकरण धादिङले बताएको छ । भूगर्वविदहरुको अध्ययन अनुसार धादिङमा ३ सय ८८ घरधुरी जोखिमयुक्त बस्तिमा रहेको र स्थानान्तरण गनुपर्ने लाभग्राहीमध्ये १ सय ९१ जना लाभग्राहीले मात्र जग्गा प्राप्त गरेका छन् ।
धादिङमा गङ्गाजमुना गाउँ पालिकाको कराङ, अन्दर, चेप्राङ, रिचेत, गम्राग, रुवीभ्याली गाउँपालिकाको हिम्दुङ, तिप्लिङ, लापा, चपाङचेत, छुम्राङ आदि बस्तीहरु उच्च जोखिममा रहेका छन् । त्यसै गरी खनियाबास गाउँपालिकाको धार्ना र दार्खा पनि परेको छ । बुढीगण्डकी प्रभावित क्षेत्रका लाभग्राहीहरुमध्ये १ हजार ४६ जनाले पहिलो किस्ता लिएका छन् भने १ हजार ३२ जनाले दोस्रो किस्ताको लागि सिफारिस गरिएको छ ।
प्रतिक्रिया दिनुहोस