धादिङ २९ श्रावण
नेपालमा मिर्गौला प्रत्यारोपणले गति लिनुमा भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको ठूलो योगदान रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सन् २०१२ मा स्थापना गरेको यस संस्थाले अहिलेसम्म १२९१ जनाको मिर्गौला प्रत्यारोपण गरिसकेको छ। यहाँ आजका दिनसम्म २७ जनाको कलेजो प्रत्यारोपण भएको छ।
मिर्गौला र कलेजो प्रत्यारोपण मात्रै नभएर जनशक्ति उत्पादनमा पनि राष्ट्रिय प्रत्यारोपण केन्द्र योगदान गरिरहेको छ।
केन्द्रमा प्रत्यारोपण गरेकै अनुभवका आधारमा यहाँ कार्यरत दुई चिकित्सकले बेलायतमा प्रत्यारोपण सर्जनका रूपमा काम गर्ने अवसर पाउनुभएको छ। राष्ट्रिय प्रत्यारोपण केन्द्रमा साढे ५ वर्षदेखि कार्यरत डा.हरिप्रसाद बराल र डा.रोजन अधिकारीले बेलायतको सरकारी सेवामा रहेर फेलोसिपको अवसर पाउनुभएको हो। डा.बराल र अधिकारीले केन्द्रमा युरोलोजी तथा मिर्गौला प्रत्यारोपणमा काम गर्दै आउनुभएको छ ।
डा.बराल ’इप्लेरियल कलेज हेल्थ केयर एनएचएस ट्रस्ट’ र डा.अधिकारी ’रोयल फ्रि एनएचएस ट्रस्ट’ अस्पतालमा फेलोसिप गर्न जाँदै हुनुहुन्छ। २ वर्षे फेलोसिपमा डा.बरालले मिर्गौला प्रत्यारोपणमा थप सिक्ने अवसर पाउनुहुनेछ । यसका साथै उहाँले प्यांक्रियाज प्रत्यारोपण सम्बन्धि ज्ञान हासिल गर्ने अवसर समेत पाउनुहुनेछ ।
नेपालमा अहिलेसम्म प्यांक्रियाज प्रत्यारोपणको विज्ञ चिकित्सक कोही छैन। प्यांक्रियाज प्रत्यारोपण सुरु भएको पनि छैन। यसलाई एक खालको राम्रो अवसर र चुनौतीको रूपमा लिएको डा.बरालले बताउनुभयो ।
डा.अधिकारीले बेलायत गएर मिर्गौला प्रत्यारोपण थप ज्ञान पाउनुका साथै रोबर्टबाट गर्ने सर्जरीबारे सिक्दै हुनुहुन्छ । रोबर्टबाट गरिने सर्जरीबारे नेपालका चिकित्सकहरू भर्खर तालिम लिइरहेको अवस्था छ। नेपालको एक निजी अस्पतालले भर्खरै मात्र रोवर्टिक सर्जरीको अभ्यास सुरु गरेको छ । यसमा भारतीय चिकित्सकले सघाइरहेका छन् ।
बेलायतमा धेरै प्रत्यारोपण मस्तिष्कमृत्यु भएका व्यक्तिको अंगबाट गरिन्छ । नेपालमा मस्तिष्कमृत्यु भएका व्यक्तिबाट अंग प्राप्त गरी प्रत्यारोपण गर्ने दर अति न्यून छ । डा.बराल र डा.अधिकारीलाई त्यहाँ मस्तिष्कमृत्यु भएका व्यक्तिबाट अंग निकालेर प्रत्यारोपण गर्ने कुरामा पनि थप ज्ञान मिल्नेछ।
राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.पुकार चन्द्र श्रेष्ठका अनुसार चिकित्सकद्वय बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा अन्तर्गत प्रत्यारोपण विशेषज्ञ पदमा नियुक्ति लिएर काम गर्ने गरी जान लाग्नुभएको हो ।
१२ वर्षअघि मात्रै स्थापना भएको एक संस्थामा काम गरेकै आधारमा नेपालका चिकित्सकले बेलायतका नामी अस्पतालमा काम गर्ने अवसर पाउनु निकै ठूलो कुरा रहेको डा.पुकारको भनाइ छ ।
बेलायतको नाम चलेको अस्पतालले यहाँका चिकित्सकलाई नियुक्ति दिएर लानु देशकै इज्जतको कुरा भएको उहाँको भनाइ छ।
डा.पुकारले पनि बेलायतमै ६ वर्ष प्रत्यारोपण सम्बन्धि अध्ययन तथा काम गरेर नेपाल फर्कनुभएको हो। त्यही अनुभवका आधारमा नेपालमा मिर्गौला र कलेजो प्रत्यारोपण सेवा सुरु गुर्नुभएको थियो ।
राष्ट्रिय प्रत्यारोपण केन्द्रले शैक्षिक कार्यक्रम समेत सञ्चालन गर्ने गरी प्रतिष्ठान बनाउने योजना रहेको केन्द्रका कार्यकारी निर्देशक डा.पुकारले जानकारी दिनुभयो । केन्द्रमा प्रतिष्ठान सञ्चालन गर्न सकेमा अंग प्रत्यारोपणका लागि जनशक्ति उत्पादन गर्ने तथा अनुसन्धान गर्ने थलोका रूपमा विकास गर्ने सकिने उहाँको भनाइ छ ।
शैक्षिक कार्यक्रम सञ्चालन गर्न नसके पनि केन्द्रले नेपालमा मिर्गौला प्रत्यारोपणका लागि जनशक्ति उत्पादन गर्ने काम गरिरहेको डा.पुकार बताउनुहुन्छ ।
राष्ट्रिय प्रत्यारोपण केन्द्रमै उत्पादन भएका जनशक्तिले देशमा सरकारी तथा निजी अस्पतालहरूमा मिर्गौला प्रत्यारोपण सेवा बिस्तार भइरहेको दावी उहाँको छ। केन्द्रकै सहयोगमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा र कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मिर्गौला प्रत्यारोपण सेवा सुरु भइसकेको छ ।
निजी अस्पतालहरूमा नर्भिक, मेडिसिटी, किष्ट, सुमेरू, काठमाडौं मेडिकल कलेजलगायत अस्पतालमा मिर्गौला प्रत्यारोप हुने गरेको छ । ती अस्पतालमा पनि राष्ट्रिय प्रत्यारोपण केन्द्रमै सिकेर गएका चिकित्सकले प्रत्यारोपण सुरु गरेको डा.पुकारले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस