धादिङ २५ श्रावण
धादिङमा आत्महत्या न्युनिकरण तथा व्यवस्थापन अभियान सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार सदरमुकाम धादिङवेशीमा एक कार्यक्रमको आयोजना गरी आत्महत्या न्युनिकरण तथा व्यवस्थापन अभियान सम्बन्धी अन्तरक्रिया गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय धादिङको आयोजनामा आत्महत्या न्युनिकरण तथा व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदन २०८१ अन्तरगत अन्तरक्रिया गरिएको हो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक गौतम के.सी ले नेपाल प्रहरीले आत्महत्या न्युनिकरण तथा व्यवस्थापन अभियान कार्यक्रमलाई आफ्नो निति तथा कार्यक्रममा समावेश गरेको बताउनुभयो । नेपाल सरकारले पनि यस अभियानलाई निति तथा कार्यक्रममा राखेको तर बजेट नछुट्याउदा कार्यक्रम गर्न समस्या हुने गरेको उहाँको भनाई छ ।
आत्महत्या न्युनिकरणको लागि यस अभियानले धेरै मद्धत पुर्याउने हुनाले यस अभियानलाई अगाडी बढाउन नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङगाले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
यस्तै प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले धादिङमा आत्महत्याले डरलाग्दो रुप लिईरहेको हुनाले यसलाई स्थानीय तहले मुख्य प्राथमिकतामा राखेर लैजानुपर्नेमा जोड दिनुभएको छ ।
त्यसैगरी कार्यक्रममा महिला मानव अधिकार रक्षक जिल्ला सञ्जाल धादिङका अध्यक्ष गायत्री खतिवडाले पुरुषको आत्महत्या गर्नेको संख्या बढिरहदा महिलाहरुले आत्महत्याको प्रयास गर्ने दर बढ्दो रहेको बताउनुभयो । किनभने महिलाहरुले आफ्नो दुख पिडा आफ्नो साथी दिदिबहिनी आमालाई सुनाउने तर पुरुषहरुले आफ्नो दुख कसैसामु पोख्न नसक्ने यदि दुख आसु कसैसामु देखाएमा हासोको पात्रो बन्नुपर्ने अवस्था सिर्जना भएको बताउनुभयो । साथै उहाले आत्महत्या गर्नु कायरता नभएको पनि बताउनुभएको छ । आत्महत्या गर्ने व्यक्तिको बाहिरी जिवनशैलीलाई हेरेर मुल्याङकन गर्नूभन्दा पनि त्यस व्यक्ति भित्र रहेको भावना र संवेदनालाई बुझ्नुपर्ने बताउनुभयो । आत्महत्या गर्ने विविध कारण भएपनि मेरो कोही छैन, केही छैन र मेरो लागि संसार सकियो भन्ने सोचाई व्यक्तिमा आएपछि आत्महत्या गर्ने गरेको उहाँले बताउनुभएको छ ।
प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गैसस महासंघका अध्यक्ष शालिकराम दुवाडी, नेपाल पत्रकार महासंघका अध्यक्ष राजाराम शर्मा लगायतसुरक्षाकर्मीहरुको सहभागिता रहेको थियो।
प्रतिक्रिया दिनुहोस