धादिङ ०८ मङ्सिर
उद्योग क्षेत्रलाई विकास गर्न स्थानीय र प्रदेश सरकारले बिशेष पहल गर्नु पर्ने नीलकण्ठ नगरपालिका धादिङका उप–प्रमुख मनराज भण्डारीले बताउनु भएको छ । नेपालमा रोजगारीको सिर्जना गर्न साना तथा ठुला उद्योगहरु सञ्चालन गर्न अति आवश्यक रहेको उहाँले बताउनु भयो । घरेलु तथा साना उद्योग विकास समिति धादिङ, नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला कार्य समिति धादिङ र धादिङ उद्योग बाणिज्य संघले सोमबार धादिङबेसीमा संयुक्त रुपमा आयोजना गरेको पाँचौं उद्योग दिवसको अवसरमा प्रभात फेरी कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा भण्डारीले सो कुरा बताउनु भएको हो । घरेलु तथा साना उद्योग विकास समिति धादिङका प्रमुख ईश्वर सापकोटाको अध्यक्षता रहेको कार्यक्रममा नीलकण्ठ नगरपालिका धादिङका उप प्रमुख मनराज भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, प्रहरी उपरीक्षक राजकुमार बैदवार, नीलकण्ठ नगरपालिका धादिङका स्वास्थ्य संयोजक विष्णु रिजाल, धादिङ उद्योग बाणिज्य संघ धादिङका अध्यक्ष रुद्र बहादुर खत्री, घरेलु तथा साना उद्योग विकास समिति धादिङका अर्जुन ज्ञवाली, नेपाल घरेलु तथा साना उद्योग महासंघ प्रदेश नं ३ का कोषाध्यक्ष बलराम लम्साल, विभिन्न संघ÷ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । पाँचौं उद्योग दिवसको अवसरमा धादिङको पुछारबजारबाट सुरु भएको ¥याली शिरानबजार हुँदै कोण सभामा परिणत भएको थियो ।
प्रतिक्रिया दिनुहोस