धादिङ ०९ मङ्सिर
६ वर्षदेखि आमा प्यारालाइसिका कारण एउटै ओछ्यान परेकी, त्यही पीडा सहन नसकी बाबुले केही समय पहिला आत्महत्या गरेकाले बेसहारा बनेका धादिङ साङ्कोषकी करिना थापा मगरको परिवारलाई धादिङ लगायत देश विदेशबाट सहयोग रकम जुट्ने क्रम जारी रहेको छ । यसै सन्दर्भमा धादिङ बोर्डिङ स्कुलले पनि सामाजिक उत्तरदायित्व बहन गर्दै विद्यालयका शिक्षक तथा विद्यार्थी र युवा रेडक्रस सर्कलबाट सहयोग रकम सङ्कलन गरी पीडित करिनाको परिवारलाई हस्तान्तरण गरेको छ । शिक्षक तथा विद्यार्थीहरुबाट सङ्कलित रु. १६ हजार ३ सय ४५ रकम पीडित करिना मगर अध्ययनरत विद्यालय साङ्कोष मा.वि.का शिक्षक नवराज सापकोटलाई विद्यालयका प्रधानाध्यापक हरि लम्सालले सोमबार हस्तान्तरण हस्तान्तरण गर्नुभएको हो । विद्यालयका प्रधानाध्यापक लम्सालले धादिङ बोर्डिङ पढाइमा पनि अब्बल र सामाजिक कार्यमा पनि उत्तिकै अग्रसरताका साथ अगाडि बढेकाले समाजमा हुने यस्ता खालका सङ्कट, विपत्तिमा सहयोग गर्न पाउँदा अत्यन्तै खुसी महसुस गरेको बताउनु भयो । पीडित करिनाको परिवारमा एक भाइ, एक बहिनी र बिरामी आमा रहेकी छन् ।
करिना मगरको परिवारलाई आर्थिक सहयोग गर्नका लागि उनी अध्ययनरत विद्यालयका शिक्षक राम प्रसाद लामिछाने, अभिभावकहरु ब्ल बहादुर थापा र टीका मगरद्धारा सञ्चालित राष्ट्रिय वाणिज्य बैँकको खाता नं. १०३००२०२८८१० मा हालसम्म रु. ५ लाख ८० हजार ३ सय ७५ रकम जम्मा भएको विद्यालयका शिक्षक नवराज सापकोटाले बताउनु भयो । यस्तै वडा अध्यक्ष बाबुराम लम्साल, अभिभावक इन्द्र बहादुर ढिकी मगर संरक्षण रहने गरी सानिमा बैँक धादिङमा करिना, काजिराम र सोम कुमारीको नाममा खोलिएको खाता नं. ००४११०८००००३८८ मा करिब १ लाख रुपैँया जम्मा भएको वडा अध्यक्ष बाबुराम लम्सालले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस