धादिङ ३ श्रावण
धादिङ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ ।
जिल्ला स्तरीय खोप समन्वय समिति धादिङले बिहीबार पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणिकरण सभामाको आयोजना गरी पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेको हो ।
बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य प्रशासक सन्जु रायले पूर्ण खोप सुनिश्चितताको प्रमाण पत्र जिल्ला खोप समन्वय समिति अध्यक्ष नवराज अधिकारी र जनस्वास्थ्य कार्यालयलाई प्रदान गरी खोप सुनिश्चितता गरिएका थियो ।
खोप अभियानमा ० देखि १५ महिनाका ४ हजार ४ सय ९४ जना मध्ये १५ जना बालबालिका खोप लगाउन छुटेको पाइएको थियो । र १६ देखि ५९ महिनाका ११ हजार ६ सय २ जना बालबालिका मध्ये ६३ जनालाई पुर्ण खोप छुटेको जनस्वास्थ्य कार्यालय धादिङका खोप सुपरभाइजर निरिक्षक श्याम प्रसाद पोखरेलले बताउनुभयो । पोखरेलका अनुसार यी सबै बालबालिकालाई अहिले पूर्ण खोप लगाएर पूर्ण खोपको सुनिश्चितता गरिएको हो ।
जिल्लाका सबै स्थानीय तहमा रहेका बालबालिकालाई राष्ट्रिय खोप कार्यक्रमको तालिका बमोजिम १५ महिनाभित्र पाउनुपर्ने सबै खोप पाइसकेको सुनिश्चितता सहित जिल्लामा पनि पूर्ण खोप सुनिश्चिता घोषणा गरिएको जनस्वास्थ्य कार्यालय धादिङका प्रमुख विभु कुमार झाले बताउनुभयो। कार्यक्रममा १३ वटै स्थानिय तहमा कार्यरत स्वास्थ्य शाखा प्रमुखहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।
बालबालिकाको लागि खोप महत्वपुर्ण रहेकोले दिगोपना तथा सुनिश्चितता आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले बताउनुभयो ।
त्यसैगरी जिल्ला स्तरीय खोप समन्वय समितिका संयोजक तथा समन्वय प्रमुख नवराज अधिकारीले सबै पालिका र वडाहरुमा एउटै सेवा सुविधा नभएकोले प्रत्येक स्वास्थ्य शाखाले नागरीकहरुलाई डिजिटल सुचना दिने व्यवस्था मिलाउनको लागि आग्रह गर्नुभएको छ । स्वास्थ्य क्षेत्र सबै भन्दा महत्वपुर्ण, संवेदनशिल, सम्मानित हुनुपर्ने क्षेत्र भएकोले समस्याहरुलाई समाधान गर्दै अघि बढ्नुपर्ने उहाँले बताउनुभयो ।
नेपाल सरकारले राष्ट्रिय खोप तालिका अनुसार सबै बालबालिकाहरुले पूर्णखोप प्राप्त गरी विभिन्न रोगहरुबाट सुरक्षित हुन सकुन भन्ने अभिप्रायले वि सं २०६९ सालबाट पूर्णखोपको अवधारणा सुरु गरेको हो ।
प्रतिक्रिया दिनुहोस