धादिङ १४ असार
धादिङको नीलकण्ठ नगरपालिकामा सीप तथा रोजगार मेला २०८१ सम्पन्न भएको छ ।
शुक्रबार नीलकण्ठ नगरपालिकाले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डिपि अर्यालको प्रमुख अतिथ्यतामा धादिङबेसीमा स्थित नीलकण्ठ बालमन्दिर माध्यामिक विद्यालयको प्राङ्गणमा आयोजना गरेको ‘युवा सीप,तालिम तथा रोजगार मेला’ सम्पन्न भएको हो ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री अर्यालले कार्यक्रमलाई भव्यताको साथ सफलताको शुभकामना प्रदान गर्नुहुंदै निजी क्षेत्रलाई सवल बनाउन सके देशमा रोजगारीको सिर्जना हुनसक्ने बताउनुभएको छ ।
उहाँले स्वदेशमा बसेर होस् वा बाध्यात्मक अवस्थामा विदेश जानु पर्दा सिप सिकेर जान सके आय आर्जन गर्न सकिने बताउनुभयो । अर्यालले आगामी आर्थिक वर्ष साउनबाट देशभर सिप मुलक कार्यक्रम गर्नको लागि तयारी गरिरहेको भन्दै संघ प्रदेश र स्थानिय सरकारसँग समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले रोजगार बैंक सञ्चालन गर्ने योजना अनुरुप तथ्याङ्क संकलनको कामलाई अघि बढाउन लागिएको बतानुभयो ।
यस्तै संघिय सांसद रामनाथ अधिकारीले मेलामा युवाहरुमा भएको सिपलाई प्रर्वद्धन गर्न नगरपालिकाले आयोजना गरेको मेलाले महत्वपूर्ण अर्थ राख्ने बताउनुभयो । तीन तहको सरकार मध्ये स्थानिय सरकारले गरेको यो मेलाबाट सबैले पाठ सिक्नुपर्ने बताउनुभयो । अहिले सञ्चालनमा रहेको तिनै तहको सरकार रहर लाग्दो, भर लाग्दो र विश्वास लाग्दो गरि सञ्चालन हुनुपर्ने बताउनुभयो ।
यसैगरि राष्ट्रिय युवा परिषद् नेपालका उपाध्यक्ष सुरेन्द्र बस्नेतले रोजगारी तथा अध्ययनको शिलशिलामा विदेश जाने युवा पुस्ताको मात्रै नेपाल सरकारले तथ्याङ्क राख्ने गरेको हुदा अध्ययन र रोजगार पश्चात स्वदेशमा फर्कनेको पनि एकिन तथ्याङ्क संकलन गरि रोजगार तथा सीप मेला जस्ता कार्यक्रमको आयोजना गरि व्यवस्थापन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
सीप तथा सिकाई उपलब्धीलाई शैक्षिक क्रियाकलाप संग जोड्दै व्यवहारिक र प्रयोगात्मक शिक्षण प्रक्रियालाई प्राथमिकताको साथ विकास गर्दै निरन्तरता दिन आवश्यक रहेको जिल्ला समन्वय समिति प्रमुख नवराज अधिकारीले बताउनुभयो ।
नगरपालिकाका नगर प्रमुख भिम प्रसाद ढुङ्गानाले नगरपालिकाले व्यवसाय गर्न ईच्छुक युवाहरुलाई सिपमुलक तालिम प्रदान गरि सहुलियत व्याजदरमा ऋण उपलब्ध गराउन समन्वयको काम गरिरहेको बताउनुभयो । युवासँग उप–प्रमुख कार्यक्रम अन्तर्गत सञ्चालन भएको रोजगार मेलामा विभिन्न क्षेत्रका विषय विज्ञहरुसँग छलफल तथा वहषको कार्यक्रम पनि सञ्चालन गरिएको थियो ।
रोजगारीको खोजीमा रहेका श्रमिक र रोजगारदाता बिच समन्वय गराउने उद्देश्यले नगरपालिकाले रोजगार मेलाको आयोजना गरेको नीलकण्ठ नगरपालिकाका कार्यवाहक नगर प्रमुख दिपक विश्वकर्माले बताउनु भयो ।
मेलामा धादिङ उद्योग बाणिज्य संघ, चेम्वर अफ कमर्श, होटल संघ, उद्योग तथा बाणिज्य कार्यालय, कृषि विकास तथा पशुसेवा कार्यालय, नीलकण्ठ बहुमुखी क्याम्पस, उद्यमशीलतामा काम गर्ने विभिन्न संस्थाहरु, व्यावसायिक तथा सीप विकास तालिम केन्द्र लगाएतले स्टल राखेर रोजगारी सम्वन्धि परामर्श दिइएको थियो ।
रोजगार मेलामा रोजगारदाताहरु र सीपमुलक तालिम दिने संस्थाहरुको स्टल, रोजगार लिने र दिने बिचमा साक्षत्कारको अवसर, व्यवसाय दर्ता, नविकरण र संचालन सम्बन्धि परामर्श, हातमा सीप हुनेलाई रोजगारीको अवसर, सफल व्यवसायी विषय विज्ञहरुसँग प्रत्यक्ष अन्तरसंवाद, स्थानिय कलाकारहरुको विशेष सांस्कृतिक प्रस्तुती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस