धादिङ ९ असार
नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालयका प्रधानध्यापक ध्रुव अधिकारीले विद्यार्थीहरुलाई स्वच्छ ज्ञान प्राप्त गर्नको लागि स्वस्थ मस्तिष्कको आवश्यक रहने बताउनुभएको छ ।
आईतबार सामूदायिक रेडियो रेडियो बिहानी ९७.६ मेगाहर्जबाट प्रसारित कार्यक्रम शैक्षिक आवाजमा कुराकानी गर्नुहुदै यहाँले सो कुरा बताउनुभएको हो । उहाँले विद्यार्थीलाई सैद्धान्तिक ज्ञान मात्र नभई व्यवहारिक ज्ञान पनि दिनुपर्ने र विद्यालय त्यसतर्फ अगाडि बढिरहेको बताउनुभएको छ ।
अहिले ३ वटा विद्यालय समायोजन भएपछि विद्यार्थी व्यवस्थापन गर्न कठिनाई भएको बताउनुहुदै उहाँले विद्यालयमा खानेपानी, शौचालय, क्यान्टिन र शिक्षक पाउन समेत कठिनाई भएको बताउनु भयो । उहाँले गुणस्तरीय शिक्षा राष्ट्रको पूर्वाधार भन्ने मूल नाराका साथ विद्यालय अघि बढेको र शैक्षिक गुणस्तर वृद्धिको लागि शिक्षकहरुलाई शिक्षकको पेसागत विकास (टि.पि.डि) तालिमहरुको समेत व्यवस्था गरेको बताउनु भयो ।
‘अहिले युवा जनशक्ति तिव्ररुपमा विदेशिने लहर चलिरहेको छ तर युवा विदेशिनु समस्या होइन त्यहाँ गएको युवालाई स्वदेश फर्काउन नसक्नु चाँहि प्रमुख समस्या हो ’–उहाँले भन्नुभयो । ‘युवा विदेश गएर त्यहाँको शैक्षिक पद्धति, व्यवहारिक ज्ञान सिकेर नेपालमा त्यसको लागु गर्न सक्नु महत्वपूर्ण उपलब्धि हो । युवाले विश्व भरि सिकेर आएको ज्ञान नेपालमा प्रयोग गर्न सके देश समृद्धि तर्फ उन्मुख गराउन सकिन्छ । विश्वमा राजनितिलाई शिक्षाले पकड गरिरहेको छ तर नेपालको अवस्था हेर्ने हो भने शिक्षामा राजनिति भइरहेको छ । शिक्षामा आएको राजनितिक बेथितीका कारण युवा विदेशिएको हो ।’
प्रधानध्यापक अधिकारीले बागमती प्रदेशले नै एक विधालय एक नर्स कार्यक्रम ल्याएपछि विद्यालयको शैक्षिक क्षेत्र र खानपानमा समेत सुधार आएको बताउनु भएको छ ।
साथै शिक्षकहरुबिच बेला बेलामा अन्तरक्रियात्मक कार्यक्रमहरु समेत भइरहेको र विद्यार्थीहरुको क्षमता अभिवृद्धिको लागि विभिन्न कार्यक्रम सञ्चालन हुदै आइरहेको समेत बताउनु भयो । साथै आगामी शैक्षिक कार्ययोजना अन्तर्गत उहाँले यहि असार १४ गते शैक्षिक प्रदर्शनी मेलाको आयोजना गदै विद्यार्थीहरु आफैले निर्माण गरेका शैक्षिक सामाग्रीहरु प्रदर्शनी कार्यक्रम समेत रहेको जानकारी गराउनु भयो । त्यसैगरी पहिलो त्रैमासिक परिक्षाको नतिजा आए पश्चात शिक्षक, अभिभावक र विद्यार्थीको बिच नतिजाको समिक्षा गरेर अगाडी बढ्ने बताउनु भयो ।
एउटा सिङगो विद्यालय सञ्चालन गर्नका लागि शिक्षक विद्यार्थी र अभिभावकको पुर्ण रुपमा त्रिपक्षिय ढंगबाट समान भुमिका निर्वाह गर्न आवश्यक रहेको औल्याउनुभयो ।
प्रतिक्रिया दिनुहोस