धादिङ ०७ मङ्सिर
सहकारी क्षेत्रको विकासलाई आफ्नो क्षेत्रबाट सक्दो पहल गर्ने संघीय सांसद खेम प्रसाद लोहनीले बताउनु भएको छ । भैरवी वचत तथा ऋण सहकारी संस्थाको १८ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै सांसद लोहनीले भैरवी वचत तथा ऋण सहकारी संस्थालाई धादिङ जिल्लाकै नमुना सहकारीको रुपमा चिनाउनु पर्नेमा जोड दिनु भयो ।
न्युन आयस्तर भएका मानिसहरुको पुँजीलाई एकत्रित गरी सामुहिक भावनाको विकास गराउने अभिप्रायले २०५७ साल फागुन ६ गते तदर्थ समितिको निर्माण गरी संस्थालाई सहकारी ऐन २०४८ सँग अनुबन्ध गराउने प्रयासको बाबजुद २०५७ साल चैत्र १४ गते विधिवत रुपमा भैरवी वचत तथा ऋण सहकारी संस्थाको स्थापना भएको गरिएको हो । यस सहकारीमा ७ सय ७ जना महिला, ९ सय ५१ जना पुरुष र ३ जना संस्थागत गरी कुल १ हजार ७ सय ४१ जना शेयर सदस्य रहेका छन् । यसै गरी ४ सय ७१ बाल वचत रहेका छन् । यस संस्थाको शेयर पूँजी असार मसान्त सम्म रु. १ करोड ३ लाख २१ हजार ५ सय र कार्तिक मसान्त सम्म रु ५ लाख २७ हजार थप भई शेयर पुँजी रु १ करोड ४३ लाख ४८ हजार ५ सय रहेको छ । यसै गरी आर्थिक बर्ष २०७५/२०७६ असार मसान्त सम्म सम्पूर्ण खर्च कटाई ६९ लाख ६३ हजार ५ सय ५५ रुपैंया नाफा कमाउन सफल भएको छ । भैरवी वचत तथा ऋण सहकारी संस्था लिमिटेड धादिङका महासचिव रामलाल श्रेष्ठले आर्थिक बर्ष २०७५/०७६ को प्रतिवेदन तथा आर्थिक बर्ष २०७६/०७७ को प्रस्तावित कार्यक्रम र आर्थिक बर्ष २०७५/०७६ को वास्तविक आय व्यय विवरण तथा आर्थिक बर्ष २०७६/०७७ को प्रस्तावित कार्यक्रमहरुको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सहकारीको १८ औँ बार्षिक साधारण सभाको अबसरमै शेयर सदस्यहरुका छोरा/छोरी मध्येबाट एस.इ.इ परीक्षामा उत्कृष्ठ नतिजा ल्याउन सफल टोपकुमारी श्रेष्ठको छोरा सिद्धान्त श्रेष्ठ, अर्जुनप्रसाद अधिकारीकी छोरी एलिना अधिकारीलाई पाँच÷पाँच हजार नगद सहित पुरस्कृत गरिएको थियो ।
भैरवी वचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष ईश्वरकुमार श्रेष्ठको अध्यक्षता रहेको कार्यक्रममा संघिय सांसद खेम प्रसाद लोहनीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नीलकण्ठ नगरपालिका धादिङका उप–प्रमुख मनराज भण्डारी, शिवज्योति महिला सहकारी संस्था लिमिटेड धादिङकी सल्लाहकार शान्तिमाया गुरुङ, श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था लिमिटेड धादिङका सचिव कविता थापा लगायत विभिन्न संघ÷संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस