धादिङ ०८ असार
धादिङको बेनीघाट रोराङ गाउँपालिकामा ‘अनिवार्य तथा निःशुल्क शिक्षा’ लागु भएको घोषणा गरिएको छ ।
शुक्रबार गाउँपालिकाको आयोजनामा गाउँपालिकाको कार्यालय विशालटारमा बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा पालिकामा आधारभूत तह अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको घोषणा गरेको हो ।
पालिकाका दश वटै वडाहरूले यसअघि नै लागु भएको घोषणा गरिसकेका थिए । शुक्रबार समग्र पालिकाभरि नै अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको घोषणा गरेको हो ।
गाउँपालिकामा ४ वर्ष देखि १३ वर्ष उमेर समूहका कुनै पनि बालबालिका विद्यालय बाहिर नरहेको र सो उमेर समूहका आधारभूत तहसम्मका बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्न गाउँपालिका प्रतिबद्ध रहेको घोषणा गरिएको छ । बागमती प्रदेश सरकार, शिक्षा विकास निर्देशनालय हेटौँडाको आर्थिक सहयोगमा बेनीघाट रोराङ गाउँपालिकाले व्यवस्थापन र सञ्चालन गर्ने गरी कार्यक्रम लागु गरिएको हो ।
कार्यक्रममा बोल्दै मन्त्री मोक्तानले विकट मानिएको बेनीघाट रोराङमा चार देखि तेह्र वर्षका कुनै पनि बालबालिका विद्यालय बाहिर छैनन् भनेर घोषणा गर्न पाउँदा खुसी लागेको बताउनुभयो । भौगोलिक विकटता, शिक्षकको अभाव, भवन कक्षाकोठाको अभाव, बालबालिका विद्यालय भर्ना नहुने लगायत थुप्रै समस्याहरू रहेको र तिनलाई सम्बोधन गर्न प्रदेश सरकारले निरन्तर रूपमा शिक्षाविद्हरूसँग छलफल गरिरहेको मन्त्री मोक्तानले जानकारी दिनुभयो ।
बेनीघाट रोराङ अल्पसङ्ख्यक चेपाङ समुदायको बाहुल्यता रहेको पालिका भएकाले चेपाङ लगायत पिछडिएका समुदायलाई अगाडि ल्याउन शिक्षालाई नै पहिलो प्राथमिकता दिनुपर्ने मन्त्री मोक्तानले भन्नुभयो ।
त्यसैगरी बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक)ले आफ्नो पालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको घोषणा गर्न पाउँदै गर्भ अनुभूति भएको बताउनुभयो । “कुनै व्यक्ति तथा संस्थाले चन्दा वा सहयोग गर्न चाहेमा विद्यालयले लिनसक्ने प्रावधान ऐनमा भएपनि सकेसम्म आर्थिक सहयोग नलिन र भौतिक सहयोग मात्रै लिन पनि हामीले भनिरहेका छौँ ।”, अध्यक्ष थपलियाले भन्नुभयो ।
अध्यक्ष थपलियाले गाउँपालिकामा ५५७ जना शिक्षक आवश्यक पर्ने तर जम्मा २२७ मात्रै सरकारी कोटा पाएको जानकारी दिए । उनले आधाभन्दा बढी शिक्षक निजी स्रोतबाट पाल्नु परेको निजी स्रोतका शिक्षक पाल्न मात्रै वार्षिक पाउने आठ करोड रुपैयाँ लगानी हुने गरेको जानकारी गराउनुभयो ।
त्यसैगरी बेनीघाट रोराङ गाउँपालिकाका शिक्षा शाखा प्रमुख बोधराज पाठकले गाउँपालिकामा शिक्षक दरबन्दी कोटा अत्यन्तै न्यून रहेको, शिक्षक समायोजन गर्न कठिन भएको र यसबारे दुई वर्षअघि नै प्रदेश सरकारलाई जानकारी गराउँदा पनि कुनै सम्बोधन नभएको गुनासो गरे । उनले सिमित स्रोत तथा साधनमा जसोतसो विद्यालय सञ्चालन गर्न परिरहेको अवस्थामा शैक्षिक गुणस्तर बढाउन कठिन हुने भन्दै यसबारे गम्भीर हुन संघ र प्रदेश सरकारको ध्यानाकर्षण गराए ।
उक्त कार्यक्रममा गाउँपालिका भरिका शिक्षक विद्यार्थी अभिभावक जनप्रतिनिधी,कर्मचारी राजनैतिक दल तथा सरोकारवा निकाय व्यक्तित्वहरुको लगायतको सहभागी रहेको थियो ।
प्रतिक्रिया दिनुहोस