धादिङ ७ असार
धादिङको वेनीघाट रोराङ गाउँपालिकामा बाल बिकास शिक्षकहरुको लागि ५ दिने शैक्षिक सामाग्री निर्माण तथा अभिभावक शिक्षा तालीम सञ्चालन सम्पन्न भएको छ ।
सदरमुकाम धादिङवेशीमा सञ्चालन भएको ५ दिने तालिममा बालबालिकाहरुको सर्वाङ्गिन विकासको लागि अभिभावक शिक्षा सम्बन्धि ज्ञान ,सीप तथा क्षमता अभिबृद्धिको मार्फत बालमैत्री वातावरण तयार गरि सिकाई उपलब्धि बृद्धिमा सहयोग पुरयाउन वेनीघाट रोराङ गाउँपालिकाले जिम्मेवारीपुर्वक कार्य गरिरहेको गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया(बिबेक)ले बताउनुभयो ।
बेनिघाटरोराङ गाउँपालिकाले बालबालिका र शिक्षालाई केन्द्रमा ,राखेर योजनाबद्ध रुपमा काम थालनी गरेको बालबालिकाहरुको शिक्षाको जग बाल बिकास कक्षा भएकाले पालिकाले विकास साझेदारहरुसँग समन्वय तथा सहकार्य समेत गरि शैक्षिक सुधारमा केन्द्रित भएर काम गरिरहेको पनि अध्यक्ष थपलियाले बताउनु भयो ।
बेनिघाटरोराङ गाउँपालिकाका वडा नम्बर ६,८ र १० का सामुदायिक विद्यालयहरुमा शिक्षामा पहुँच सुनिश्चितता परियोजना गाउँपालिकाको समन्वय,चाईल्ड फण्ड जापानको साझेदारीमा प्रयास नेपाल धादिङले सम्बन्धित बिद्यालयसँग समन्वय र सहकार्यमा संचालन भई रहेको छ ।
असार २ गतेबाट शुरु भई बिहीबारसम्म भएको तालिम समापन सत्रमा भनाई राख्नु हुँदै चाईल्ड फण्ड जापानका एरिया मेनेजर दल बहादुर सुनारले बालबलिकाहरुको शैक्षिक सुधारमा टेवा पुर्याउन बालबालिकाहरुलाई केन्द्रमा राखेर स्थानीय साझेदार संस्था प्रयास नेपाल,धादिङसँगको साझेदारीमा आगामी ५ बर्षसम्मको लागि शिक्षामा पहुँच सुनिश्चिता परियोजना संचालन मार्फत बेनिघाटरोराङ गाउँपालिकालाई सहयोग गर्न लागिएको बताउनु भयो ।
बालबालिका सिकाईमा कसरी सहजिकरण गर्ने , स्थानीय स्तरमा उपलब्धि बस्तुहरुलाई कसरी शैक्षिक सामाग्रीको रुपमा प्रयोग गर्ने ,बालबालिका र पारिवारिक सदस्यको सुमधुर सम्बन्ध , परिवारले बालबालिकालाई गर्नुपर्ने स्याहार तथा हेरचाह ,अभिभावकसँग नियमित छलफल तथा सचेतना सेसन संचालन बिधि प्रक्रिया लगायतका बिषयमा सेतोगुँरास कपिलवस्तुका प्रशिक्षक भगवती थापा र प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले सहजिकरण गर्नु भएको थियो ।
तालिम समापन पछि तालिममा सहभागी दुर्गा चेपाङ ,रेश्मा श्रेष्ठ ,सानुमाया चेपाङ , सुजाता रेग्मी ,सन्तोष चेपाङ ,ईन्दिरा बिक ,बिनिता श्रेष्ठ लगायत बाल बिकास सहजकर्ताहरुले आफुले सिकेको सिप बिद्यालय र समुदाय तहमा समेत लागु गरि बालबालिकाहरुको सर्वाङिन विकासमा लागि सक्रियताका साथ कार्य गर्ने प्रतिबद्धता गर्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस