धादिङ–३० जेठ, २०८०
नेकपा (माओवादी केन्द्र) धादिङको नीलकण्ठ नगर समितिद्वारा नीलकण्ठ नगरपालिकालाई सुझाव पत्र हस्तानतरण गरेको छ ।
बुधबार नगरपार्टी अध्यक्ष शम्भु कुमार श्रेष्ठको नेतृत्वमा नगरपालिकाको विकास र समृद्ध नगरपालिका बनाउन आगामी आ.व.२०८१÷०८२ को नीलकण्ठ नगर परिषदमा विभिन्न जनलक्षित योजना तथा कार्यक्रमहरु नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्न १३ बुँदे सुझाव–पत्र नगर प्रमुख भीमप्रसाद ढुङगाना र उप प्रमुख दिपक विश्वकर्मालाई संयुक्त रुपमा हस्तानतरण गरेको हो ।
सबै वडाहरुमा विकासका पूर्वाधारहरुमा समानुपातिक लगानी, उत्पादनमा आधारित अनुदान र बजार सुनिश्चितता, अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयनका लागि आवश्यक न्युनतम शिक्षक तथा विद्यालय कर्मचारीको दरबन्दी व्यवस्था गर्न, लक्षित वर्ग समुदाय केन्द्रित योजना, पर्यटन, पशुपंक्षी बीमादेखि वन डढेलो नियण्त्रण, उद्यमी व्यवसायीलाई लगानीमैत्री वातावारण बनाउन लगायतका सुझावहरु सो पत्रमा उल्लेख गरिएको छ।
त्यस्तै सहिदको सम्झनामा सहिद पार्क, स्मारक, सहिद गेट, स्मृति प्रतिक्षालय, युवा तथा प्रौढलाई स्वरोजगारको कार्यक्रम, साँस्कृतिक, प्राकृतिक एवम् पर्यटकीय क्षेत्रको पहिचान तथा बिकास, स्वाच्छ खानेपानी, प्रशासनिक सेवा सरल छरितो, व्यवस्थित बनाउन लगायतका विषयवस्तुहरु आगामी आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रममा समावेश गरी बजेट विनियोजन गर्न सुझाव–पत्रमा उल्लेख गरिएको छ ।
उक्त सुझाव–पत्र हस्तान्तरणमा नगर समिति उपाध्यक्ष बद्रिप्रसाद सुवेदी, सह–सचिव बिष्णुप्रसाद ढुंगाना, जिल्ला समन्वय समिति सदस्य हरिकृष्ण लम्साल, ३ नम्बर पार्टी अध्यक्ष वलराम खत्री, ८ नम्बर पार्टी अध्यक्ष भुवल बि.क लगायतको उपस्थितिमा सो पत्र हस्तानतरण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस