धादिङ २८ जेठ
धादिङको वेनीघाट रोराङ गाउँपालिकामा खानेपानी गुणस्तर परीक्षण गर्ने प्रयोगशाला(ल्याव)को उद्घाटन गरिएको छ ।
सोमबार वडा नम्बर ७ स्थित चरौदीमा एक कार्यक्रमको आयोजना गरि गाउँपालिका अध्यक्ष एवम् वेनीघाट खानेपानी वोर्डका अध्यक्ष कृष्ण बहादुर थपलिया विवेकको सभाध्यक्षतामा उद्घाटन भएको हो । गाउँपालिका संगको सहकार्यमा फोकस नेपाल र अक्सफाम नेपालको सहयोगमा उक्त प्रयोगशाला सञ्चालन गर्ने भएको हो ।
गाउँपालिका भरिका सबै जनताको घर धारामा सहज रुपमा स्वाच्छ खोनपानी पुराउने उद्धेश्यका साथ खानेपानी गुणस्तर परीक्षण गर्ने प्रयोगशाला(ल्याव)को व्यवस्थापन गरिएको गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया विवेकले बताउनुभयो । उहाँले गाउँपालिकाको हरेक योजनाहरुमा दिगो र टिकाउ बनाउन पालिका कटिवद्ध रहेको बताउनुभयो ।
पालिकाको हरेक बिकास र संबृद्धिका योजना तथा प्रशासनिक कार्यहरुमा सुशासन पारदर्शिता कायम गरी सत्य तथ्य रिपोर्ट राख्ने गरेको र जनसमूदायसंग प्रत्यक्ष रुपमा जनसम्पर्कमा रहेको स्पष्ट पार्नुभयो । अध्यक्ष थपलियाले एकद्धार प्रणालीबाट स्थायी रुपमा खानेपानीको दिगो बिकास गर्न गाउँपालिकाका सबै उपभोक्ता समिती खानेपानी वोर्डमा सूचीकृत हुन आग्रह गर्नुभयो ।
त्यस्तै गाउँपालिका उपाध्यक्ष टाप बहादुर श्रेष्ठले देशकै नमुना काम गर्दै वेनीघाट रोराङ गाउँपालिकाको पहिचान अब्बल दर्जामा स्थापित गर्न सफल भएको खुशी व्यक्त गर्दै आगामी दिनमा पनि जनताका आधारभुत आवश्यकताका सबै कार्ययोजनामा तदारुकतासाथ लागिपर्ने स्पष्ट पार्नुभयो ।
गाउँपालिका भरिका १५० वटा खानेपानी उपभोक्ता समिती रहेकोमा २४ वटा मात्र वोर्डमा सूचीकृत भएको वनीघाट खानेपानी वोर्डका कार्यकारी निर्देशक अर्चिता उप्रेतीले जानकारी दिनुभयो । उक्त खानेपानी परिक्षणको लागि वोर्डमा सूचीकृत भएका उपभोक्ता समितीमा निःशुल्क गरिने र बाँकी उपभोक्ता समिती,विभिन्न छिमेकी स्थानीय तहहरुलाई सामान्य वर्गीकरणका आधारमा शुल्क निर्धारण गरिएको निर्देशक उप्रेतीले बताउनुभयो ।
मानव स्वास्थ्यमा ७० प्रतिशत रोगहरु प्रदुषित पानीका कारणले लाग्ने गरेका पाईन्छ । हाल नेपालको तथ्यङकमा ३४ प्रतिशत भन्दा कम व्यक्तिहरुले मात्र स्वाच्छ पीउने पानीको मात्रा प्रयोग गरेको पाईन्छ । २०७९ साल श्रावन ५ गते स्थापना भएको वेनीघाट रोराङ खानेपानी वोर्डमा हाल प्राविधिक सहित ९ जना कर्मचारी रहेको छ । फोकस नेपाल, अक्सफाम र गाउँपालिकाको सहयोगमा उक्त खोनेपानी वोर्डले गाउँपालिकाका १० वटै वडाहरुमा स्वाच्छ खानेपानीको आवधारणा सञ्चालन गर्दै आएको छ ।
उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष टाप बहादुर श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत नर्बदा घिमिरे,फोकस नेपालका कार्यकारी एकराज छत्कुली,विभिन्न वडाका वडा अध्यक्षहरु,राजनैतिक दलका प्रतिनिधी, खानेपानी उपभोक्ता समितीका पदधिकारी,स्थानीय उपभोक्ताहरु,पत्रकार लगायतको सहभागीता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस