धादिङ २६ जेठ
धादिङको नीलकण्ठ नगरपालिकामा एक दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ ।
शनिबार वडा नम्बर ८ स्थित वडा कार्यालयको आयोजना धादिङ अस्पताल धादिङ र सामुदायिक आँखा केन्द्र धादिङको प्राविधिक सहयोग, रोटरी क्लब अफ धादिङ, आधारभुत स्वास्थ्य संस्था रामकोटको समन्वयमा एक दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको हो ।
उक्त शिविरमा ४ सय ८० जनाको स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा दाँत सम्बन्धी परीक्षण, नाक कान घाँटी, मुटुको ईसिजि, स्त्रीरोग तथा प्रशुती सम्बन्धी जाँच, आँखा लगायतका जनरल सेवाहरु विषयगत विशेषज्ञद्धारा स्वास्थ्य परीक्षण गरिएको नीलकण्ठ ८ का समाजसेवी युवा नेता हरि कृष्णा लम्सालले रेडियो बिहानीलाई बताउनुभयो ।
उक्त स्वास्थ्य शिविरमा प्रमुख अतिथि रहनुभएका नगर उपप्रमुख दिपक विश्वकर्माले शिक्षा स्वास्थ्य,युवा लक्षित नागरिक रोजगारलाई नगरपालिकाले उच्च प्राथमिकतामा राखेर कार्य सञ्चालन गर्दै गरेको अवस्थामा वडा कार्यालयले निशुल्क स्वास्थ्य शिविर आयोजना गरि लक्षित वर्गलाई स्वास्थ्य जाँचमा सहज पहुँच पुराउन सहयोग गरेकोमा वडालाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।
मुलुकको वर्तमान संघीय लोकतान्त्रिक व्यवस्थालाई सबल सक्षम मजबुद बनाउन यस्ता खाले सेवा जनताको घरदैलोबाटै सुरु गर्दा पब्लिकमा राम्रो सन्देश जाने उपप्रमुख विश्वकर्माको भनाई छ ।
त्यस्तै वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठ स्वास्थ्य क्षेत्रमा सबै ज्येष्ठ नागरिक अपाङगता भएको व्यक्ति,महिला,वालवालिका,दलित समूदाय लगायत लक्षित वर्ग समूदायको स्वास्थ्यमा समान पहुँच पुराउन स्वास्थ्य शिविरको आयोजना गरिएको वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठले बताउनुभयो । आगामी दिनमा पनि स्वास्थ्यलाई प्राथमिकतामा राखेर निशुल्क नागरिकमैत्री स्वास्थ्य शिविर आयोजना गर्ने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो ।
वडा अध्यक्ष प्रकश कुमार श्रेष्ठको अध्यक्षता नगर उपप्रमुख दिपक विश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त शिविरमा स्वास्थ्य कार्यालय धादिङका प्रमुख विभु कुमार झा,धादिङ अस्पतालका विषयगत विशेषज्ञ डाक्टरहरु,नगरपालिका स्वास्थ्य शाखा प्रमुख विष्णु प्रसाद रिजाल लगायत जनप्रतिनिधी,राजनैतिक दलका प्रतिनिधी, स्थानीय लगायतको सहभागीता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस