धादिङ ०४ मङ्सिर
गरिबी र आर्थिक अभावको चपेटा खेपिरहेका धादिङको नीलकण्ठ नगरपालिका वडा नम्वर १२ आँगेटारीकी करिना मगरको परिवारलाई आर्थिक सहयोग स्वरुप काठमाडौँकी राधा श्रेष्ठले बुधबार रु २७ हजार रकम हस्तान्तरण गर्नुभएको छ । उहाँले नगद सहित शैक्षिक सामग्री, लत्ताकपडा र सरसफाइका सामग्रीहरु हस्तान्तरण गर्नुभएको हो । आफ्नी बिरामी श्रीमतीको उपचारका क्रममा सबै सम्पति सक्दा पनि बिरामी निको नभएका कारण कार्तिक १८ गते यम बहादुर थापा मगरले आत्महत्या गरेपछि उनकी बिरामी श्रीमती लक्ष्मी थापा मगर, २ छोरी करिना थापा मगर, सोम कुमारी थापा मगर र एक छोरा काजीराम थापा मगर बिचल्लीमा परेका छन् ।
शैक्षिक सामग्री सहित पीडितहरुको अवस्था बुझ्न पुगेकी काठमाडौँकी राधा श्रेष्ठ, प्रभा कुमारी ढुङ्गेल र मिरा के.सी. ले आफ्नो स्तरबाट भुकम्प प्रतिरोधि घर बनाउने पहल गर्ने र प्यारालाइसिसका कारण ओछ्यान परेकी करिनाकी आमा र बहिनीको स्वास्थ्य उपचारको लागि पनि पहल गर्ने प्रतिबद्धता जनाएका छन् । करिना थापा मगरको आर्थिक सहयोगको लागि बुधबार सम्म राष्ट्रिय बाणिज्य बैकको खातामा रु २ लाख ४८ हजार ७ सय ८६ सङ्कलन भएको छ ।
प्रतिक्रिया दिनुहोस