धादिङ ८ जेठ
धादिङ अस्पतालमा कार्यरत वालरोग विशेषज्ञ डा.सजल त्वानाबासुले बालबालिकाको स्वास्थ्यको विषयलाई लिएर सबै भन्दा बढि अभिभावक सचेत रहनुपर्ने बताउनुभएको छ ।
सोमबार सामूदायिक रेडियो रेडियो बिहानीद्धारा प्रशारित कार्यक्रम स्वास्थ्य सवालमा कुराकानी गर्दै उहाँले सो कुरा बताउनुभएको हो । स–साना बालबालिकामा चेतनाको कमी हुने भएको र उनीहरुले आफ्नो स्वास्थ्य अवस्थाबारे ठुलो मान्छेले जसरी सहजै भन्न नसक्ने भएकोले उनीहरुको स्वास्थ्य प्रति अभिभावक अझ बढि सचेत हुनुपर्ने बताउनुभयो ।
बालबालिकामा लाग्ने हरेक किसिमका रोगहरु भाईरल ज्वरो, भाईरल रुघा खोकी जस्ता रोगका लागि एन्टिबायोटिक प्रयोग गर्नु नपर्ने समेत बताउनुभयो । बालबालिकाहरुलाई एन्टिबायोटिक भन्दा पनि स्वास्थ्य चिकित्सकको परामर्शको आवश्यकता रहेको बताउनुभयो ।
सामाजिक सञ्जालमा देखा परेका विभिन्न रोगहरुसँग आफ्नो बाल बच्चाको रोगसंग दाँजेर धेरै डराउने तथा घरमा नै उपचार पद्धति अपनाउनु भन्दा पनि अस्पतालमा गएर विशेषज्ञ सेवा लिनु बढि फाईदा जनक भएको डा.त्वानाबासुको भनाई छ । बालरोग संगसंगै पोलियो विरुद्धको खोपको बारेमा समेत जानकारी दिनुभएको थियो ।
“ कुनै कारण बस सरकारद्धारा आई भि पि को खोप उपलब्धता नभएको कारणले निश्चित उमेर समुहका बालबालिकाले खोपलगाउन पाएका थिएनन्,त्यसैले ति खोप नलागाईएका बाल बालिकामा जोखिम हुन सक्दछ भनेर त्यस्ता बच्चाहरुलाई आई भि पि खोप लगाउनका लागि अभियान संञ्चालन गर्न लागिएको हो र स्वास्थ्य कार्यालयले जारी गरेको सुचना अनुसार निश्चित उमेर तहका बालबालिकाहरुलाई विद्यलयमा नै खोप लगाउने योजना रहेको छ र त्यसमा कुनै पनि वर्गका बालबालिका हरुलाई नछुटाई खोप लगाउन आवश्यक छ । ”उहाँले भन्नुभयो– ।
स्वस्थ जिवन यापन गर्नका लागि बच्चाहरुको सरसफाईमा ध्यान दिनुपर्दछ , नियमित रुपमा साबुन पानीले हात धोईराख्नु पर्दछ , साथै बालबालिकाको मोबाईल हेर्दै खाना खाने बानीलाई सके सम्म स्क्रिन टाईम घटाएर शुन्यमा पुर्याउनु पर्दछ र पौष्टिक आहारको बारेमा विशेष ध्यान पुर्याउनुपर्ने डा.त्वानाबासुको जोड थियो ।
प्रतिक्रिया दिनुहोस