धादिङ २९ बैशाख
धादिङको गंगाजमुना गाउँपालिकामा स्वास्थ्य पशु तथा कृषि सेवा सम्बन्धी एकीकृत घुम्ती शिविर सञ्चालन शुभारम्भ गरेको छ ।
७ वटै वडाहरुमा सञ्चालन गरिने उक्त शिविर शनिबार गाउँपालिकाको वडा नम्बर १ को ताजिम्राङबाट शभारम्भ गरिएको हो ,
उक्त शिविर कार्यक्रममा कृषि तर्फ माटो परीक्षण र अन्य परामर्श सेवा प्रदान भएको छ भने पशु सेवा तर्फ गोबर परीक्षण, बोका बन्ध्याकरण र चेकजाँच गरी आवश्यकतानुसार औषधी समेत वितरण गरिएको छ ।
त्यस्तै व्यवसाय दर्ता (७ वटा ) र नवीकरण (३ वटा ) भएका छन् भने सामाजिक सुरक्षा तथा पञ्जीकरण सम्बन्धी विभिन्न ( व्यक्तिगत घट्ना दर्ता, अपाङ्गता परिचय पत्र वितरण ) विषयहरूमा परामर्श प्रदान भएको छ ।
त्यस्तै स्वास्थ्य तर्फ १४४ जनाको चेकजाँच भएको छ । चेकजाँचमा जिल्ला अस्पताल र गाउँपालिकाबाट गएका विषयविज्ञ मेडिकल अधिकृतहरू ५ जना ( डेण्टल समेत गरी ) ,स्वास्थ्य शाखा प्रतिनिधिहरू, आयुर्वेद तर्फका आयुर्वेद चिकित्सक सहित ४ जना, आँखा तर्फमा अप्टोमेट्रिस्ट सहित २ जना सहितको टिम परिचालन भएको प्रमुख प्रशासकीय अधिकृत अनिल श्रेष्ठले रेडियो बिहानीलाई बताउनुभयो ।
उहाँले उक्त शिविरमा चेकजाँच गर्दा अधिकांश व्यक्तिहरूको उच्च रक्तचाप, मधुमेह तथा हाडजोर्नी सम्बन्धी समस्या देखिएको र आँखा चेकजाँच गर्दा दृष्टिदोष र मोतियाबिन्दुको समस्या देखिएको जानकारी गराउनुभयो ।
शिविरमा सहभागी नागरिकले यस्तो शिविरले वडावासीलाई धेरै राहत दिएको हुनाले गाउँपालिकालाई धन्यवाद दिंदै आगामी दिनमा समेत यस्तो शिविर कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएका छन् ।
एकीकृत घुम्ती शिविर कार्यक्रम स्थानीय नागरिकलाई गाउँपालिकाबाट प्राप्त गर्ने सेवालाई वडामै पुगेर प्रदान गर्ने र कतिपय स्वास्थ्य सम्बन्धी विशेष सेवाहरू लिन धादिङवेशी र काठमाण्डौ जानुपर्ने बाध्यताको अन्त्य गरी गाउँपालिकाको आम नागरिकको स्वास्थ्य अवस्था पत्ता लगाई स्वास्थ्योपचार गराउन समेत फलदायी हुनाले उक्त कार्यक्रम आयोजना गरिएको हो ।
वडा नम्बर १ बाट सुरु गरिएको शिविर गाउँपालिकाले प्रशासित सूचना अनुसार सबै वडामा सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस