धादिङ २१ बैशाख
धादिङको बेनीघाट रोराङ गाउँपालिकाले माटो परीक्षण शिविर सञ्चालन गरिएको छ ।
किसानको खेतबारीको माटोको अवस्था र उर्वरा शक्तिबारे जानकारी लिएर मलजलको मात्रा सन्तुलन गरी उत्पादकत्व बढाउने उद्देश्यले शिविर सञ्चालन गरि माटोको नमुना परिक्षण गरिएको हो । गाउँपालिकाले आ.व. २०८०-८१ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत १० वटै वडाका २ सय ३४ जना कृषकको माटोको नमूना परिक्षण गरेको छ । परिक्षणको नतिजामा ७०.९४ प्रतिशत कृषकको नमूना अम्लिय रहेको पाएको छ ।
माटोको अम्लीयपना सुधारका लागि कृषि चुना वितरण गर्ने कार्यक्रम समेत रहेको गाउँपालिकाले जनाएको छ । नमूना परिक्षणको क्रममा २९ प्रतिशत कृषकको पि.एच. को अवस्था सुधारात्मक रहेको पाईएको छ ।
माटो तथा मल परिक्षण प्रयोगशाला हेटौंडा र बेनीघाट रोराङ गाउँपालिकाको समन्वयमा सञ्चालन भएको माटो परिक्षण शिविरमा २ सय ३४ जना किसानले संकलन गरेर ल्याएको फरक–फरक स्थानको माटोमा भएको नाइट्रोजन, फस्फोरस, पोटास, प्राङ्गारिक पदार्थ एवं माटोको पिएच मापन गरिएको हो ।
कृषिजन्य उत्पादनको उत्पादकत्व बढाई किसानलाई आत्मनिर्भर बनाउन माटोको परिक्षण गरिएको बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक) ले बताउनुभयो । कृषि उत्पादनलाई जोड दिन १० वटै वडाको किसानहरुसँग परिक्षणका लागि माटो मगाएर परिक्षण गरेको बताउनुभयो ।
रिपोर्ट अनुसार माटो सुधार्ने र कस्तो माटोमा कस्तो खेती हुन्छ निति तथा कार्यक्रममा नै समावेश गरेर कृषि क्षेत्रलाई जोड दिने तयारीमा रहेको अध्यक्ष थपलियाले बताउनुभयो ।
माटोमा भएका उर्वराशक्तिलाई थप बिग्रन नदिनुका साथै सुधारका काम गर्न माटो परीक्षण उपयोगी हुने बताउदै गाउँपालिका उपाध्यक्ष टाप बहादुर श्रेष्ठले प्राविधिकको टोलीले बालीनालीका लागि आवश्यक पर्ने खाद्य तत्वका बारेमा पहिचान गरेर सुहाउँदो मल, बीउ एवं विषादी प्रयोगका बारेमा समेत कृषकलाई सुझाव दिएको बताउनुभयो ।
माटो बोकेर प्रयोगशालासम्म किसान पुग्न नसक्ने भएकोले किसानको सहजताका लागि गाउँपालिकाले माटो परिक्षण शिविर सञ्चालन गरिएको प्रमुख प्रशासकिय अधिकृत नर्मदा घिमिरेले बताउनुभयो । सिमान्तकृत चेपाङ समुदाय रहेको बेनीघाट रोराङ गाउँपालिकामा धेरै किसानलाई वर्ष भरि खान समेत पुग्ने अवस्था नभएको हुदा उत्पादन बढाउने र किसानलाई आत्मनिर्भर बनाउन माटो परिक्षण गरिएको प्रमुख प्रशासकीय अधिकृत घिमिरेले बताउनुभयो ।
उक्त परिक्षण शिविरमा माटोको अम्लिय, नाइट्रोजन, फस्फोरस, पोटास, प्राङ्गारिक पदार्थको अवस्थाबारे परिक्षण गरिएको हो ।
कृषकद्वारा अत्याधिक रसायनिक मलको प्रयोगले माटोको रसायनिक गुणमा हास आउनुको साथै माटो अम्लिय भएको कुरा विभिन्न अध्ययनले देखाउँदै आएको छ । जसले गर्दा विरुवालाई आवश्यक पर्ने खाद्यतत्व सजिलै उपलब्ध नहुने हुँदा कृषि चुना वितरण गर्ने कार्यक्रम राखिएको गाउँपालिकाले जनाएको छ ।
वेनीघाट रोराङ गाउँपालिकाले गाउँपालिकाको भौतिक पुर्वाधारको बिकाससंगै शिक्षा कृषि उत्पादन तथा सिपमूलक तालिम लगायतको क्षेत्रमा आर्थिक वर्षको निती तथा कार्यक्रमहरु मार्फत प्राथमिकतामा राखेर कार्ययोजनाहरु सञ्चान गर्दै आएको छ । दुई दिने माटो परिक्षण शिविर आज सम्पन्न भएको हो ।
प्रतिक्रिया दिनुहोस