धादिङ २० बैशाख
धादिङको नीलकण्ठ नगरपालिकामा व्यवासायीहरुका लागि कर सचेनता कार्यक्रम सञ्चालन गरिएको छ ।
विहीबार वडा नम्बर ४ को पौवा भञ्याङ पोखरी स्थित वडा भरिका सहकारी सञ्चालक तथा व्यापार व्यवसायीहरुलाई कर सम्बन्धी जानकारी,कानुनी व्यवस्था र संस्था सञ्चालनमा करको महत्वबारे अन्तरक्रियात्मक छलफल गरिएको हो । उक्त कार्यक्रमलाई करदाता सेवा कार्यालय गल्छीको कार्यालय प्रमुख कर अधिकृत शिखा वाग्लेद्धारा सहजीकरण गरिएको थियो ।
उहाँले संघीय प्रदेश तथा स्थानीय कर, मूल्य अभिबृद्धि कर(भ्याट), स्थायी लेखा नम्बर,व्यवसायिक प्यान लिन आवश्यक कागजपत्र, स्थानीय तहले व्यवसायीहरुलाई ल्याएको करको दायरा लगायतको विषयमा छलफल भएको कर अधिकृत वाग्लेले रेडियो बिहानीलाई बताउनुभयो । उहाँले व्यवसायी आफै कर सम्बन्धी जानकारीको अभावले स्थानीय तहमा तिर्ने वा प्रदेश संघमा बुझाउने भन्ने विषयमा अन्योल श्रृजना भएको देखिएकोले कुन व्यवसायीले कहाँ र कति कर बुझाउनु पर्छ भन्ने विषय प्रष्ट हुन आवश्यक रहेको बताउनुभयो ।
कर सम्बन्धी सचेतना कार्यक्रमले नीलकण्ठ नगरपालिकाका व्यवसायिहरुलाई नितीगत कर सम्बन्धी जानकारी गराउने उद्धेश्य रहेको प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले बताउनुभयो । राज्य सञ्चालनको आधारको रुपमा सरकारको आम्दानीको मुख्य स्रोत कर भएकाले सबै व्यवसायीले कर सम्बन्धी जानकारी लिई सबैले नियमित कर तिर्न आवश्यक रहेको बताउनुभयो । नगरपालिकाले वार्षिक वजेटमा कार्यक्रम नै राखेर सबै वडा भरि सञ्चालन गरिने बताउनुभयो ।
वडा नम्बर ४ का वडा अध्यक्ष हरि बहादुर श्रेष्ठको अध्यक्षता प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीको प्रमुख आतिथ्यता,सामाजिक बिकास अधिकृत उर्मिला थपलिया,सामाजिक बिकास शाखामा कार्यरत निर्मला केसी, करदातासेवा कार्यालय गल्छीका कर्मचारी जनप्रतिनीधी,व्यवसायीहरु पत्रकार लगायतको सहभागी रहेको थियो ।
प्रतिक्रिया दिनुहोस